जनता टाइम्स

१६ आश्विन २०८०, मंगलवार १९:४५

जस्को पीडा सुनेर रसायो ओलीका आँखा


काठमाडौं, असोज १६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधीलाई माफी दिएर पीडितलाई दिएको पीडा सुनेर आफ्नो आँखा रसाएको बताउनु भएको छ ।

ज्यानमुद्दामा दोषी ठहर भएका नेपालगञ्जका योगराज ढकाल उर्फ रिगललाई आममाफी दिएपछि चेतन मानन्धरकी श्रीमती भारतीको पीडा सुनेर खपी नसक्नु भएको ओलीले बताउनु भएको हो ।

रिगल मानन्धरको हत्यामा दोषी ठहर भई जेल सजाय भोगिररहेका बेला मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट सजाय मिनाह भएपछि रिगल जेलमुक्त भएका थिए । आफ्ना श्रीमान चेतनको हत्या गर्ने दोषीलाई राष्ट्रपतिले माफी दिएपछि भारतीले सर्वोच्च अदालतमा रिटसमेत दायर गर्नुभएको छ ।

भारतीले पत्रकार सम्मेलन गरी आफ्नो पीडा सुनाउनु भएको छ । एमाले अध्यक्ष ओलीले भारतीले सुनाएको पीडाले आफूलाई खपी नसक्नु भएको र आँशु आएको बताउनु भएको हो ।

एमाले अध्यक्ष ओलीले फेसबुकमा लेख्नुभएको छ, ‘भारती बहिनी ! सामाजिक सञ्जालभरि देखें– तपाईंको पीडा खपीनसक्नु छ । यो देखेर मेरा पनि आँशु आए । तपाईंले मनोबल उच्च बनाउनुपर्छ । राज्यले नागरिकको संरक्षण गर्नुपर्छ, अपराधीको होइन– आज मैले संसद्मा पनि आवाज उठाएको छु । तपाईंको पछाडि म उभिएको छु, सिङ्गो देश उभिएको छ । तपाईंले न्याय पाउनु पर्छ ।’