काठमाडौं, असोज १७ । नेकपा एमालेका अध्यक्षसहित शीर्ष नेताहरुले धार्मिक सहिष्णुता कायम राख्न अपिल गर्नुभएको छ ।
नेपालगञ्जलगायत मुलुकका केही भागमा सामाजिक सदभाव बिथोल्ने र धार्मिक द्वन्द्ध बढाउने काम भइरहेको बेला अध्यक्ष ओलीसहितका शीर्ष नेताले सामाजिक सदभाव र धार्मिक सहिष्णुता कायम राख्न सवैमा अपिल गर्नुभएको हो ।
सामाजिक सञ्जालमा धार्मिक सहिष्णुता झल्कने तस्विरसहित आफ्नो धारणा राख्दै अध्यक्ष ओलीले लेख्नुभएको छ, ‘हाम्रो समाजको मुख्य विशेषता विविधता बीचको एकता र आपसी सहिष्णुता हो । एउटाको आस्थामाथि अर्कोले सम्मान गर्नु हाम्रो साझा राष्ट्रिय धर्म हो । सबै धर्म र अस्थाहरु नेपाल भूमिमा सधैं संरक्षित हुँदै आएका छन् । पछिल्लो समय धार्मिक विवादमा नेपालगञ्ज लगायत विभिन्न भागमा फैलिएको अशान्तिले सद्भाव र सहिष्णुताको हाम्रो राष्ट्रिय धर्म कमजोर बन्न पुगेको छ । एक आपसमा धार्मिक आस्थाको सम्मान गरौं । हाम्रो राष्ट्रिय एकता जोगाऔं ।’
एमाले उपाध्यक्ष बिष्णु पौडेलले पनि धार्मिक सहिष्णुता कायम राख्न अपिल गर्नुभएको छ । उपाध्यक्ष पौडेलले पछिल्लो समय नेपालगञ्ज समेत देशका केही स्थानमा देखिएका असमझदारी दुःखद भएको भन्दै तिक्तताको अवस्थालाई हटाएर सहिष्णुता र सद्भाव कायम गर्नेतर्फ भूमिका निर्वाह गर्न सवैमा अनुरोध गर्नुभएको छ ।
पौडेलले भन्नुभएको छ, ‘ जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक विविधता नेपालको पहिचान हो । नेपालीहरुबीचको सद्भाव र सहिष्णुता नेपालको निधि हो, शक्ति हो र समृद्ध नेपालको आधारशिला हो । नेपाली समाजको यस विशिष्टतालाई हामीले शदीयौंदेखि आत्मसात गरिरहेका छौं । पछिल्लो समय नेपालगञ्ज समेत देशका केही स्थानमा देखिएका असमझदारी दुःखद छन् । यो तिक्तताको अवस्थालाई हटाएर सहिष्णुता र सद्भाव कायम गर्नेतर्फ भूमिका निर्वाह गर्न सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाईहरू समक्ष हार्दिक अनुरोध गर्दछु ।’
एमाले महासचिव शंकर पोखरेलले पनि सामाजिक सञ्जालमार्फत धार्मिक सहिष्णुताको अपिल गर्नुभएको छ । महासचिव पोखरेलले धार्मिक र साँस्कृतिक सद्भाव कायमहुने सकारात्मक सन्देश सम्प्रेषण गर्न पनि अपिल गर्नुभएको छ ।
‘धार्मिक र साँस्कृतिक सद्भाव र सामाजिक एकताको कुनै विकल्प हुदैन । धार्मिक र साँस्कृतिक अतिवादले सदैब समाजलाई विभाजित र असान्त बनाउछ । नेपालगंजवासीले पटक पटक धार्मिक अतिवादमाथि विजय हासिल गर्नु भएको छ । यस पटक पनि सद्भाव र एकता प्रदर्शन गर्न सफल हुनुहुनेछ,’ महासचिव पोखरेलले लेख्नुभएको छ, ‘यतिवेला सामाजिक संजालमा नेपालगंजवासीको हितहुने खालका धार्मिक र साँस्कृतिक सद्भाव कायमहुने सकारात्मक सन्देश मात्र सम्प्रेषण गरौ । सामाजिक संजालमा भेटिएको यस चित्रको सन्देसलाई सबैले गहिरोगरी आत्मसात गरौं ।’
प्रतिक्रिया दिनुहोस्