पोखरा, असोज १९ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रचण्ड र माधव नेपाल समूहले एमालेविरुद्ध बनाएको समाजवादी मोर्चाको औचित्य नरहेको ठोकुवा गर्नुभएको छ ।
गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिन आज आयोजित कार्यक्रममा उपमहासचिव गुरुङले एमालेविरुद्ध बनाइएको कथित समाजवादी मोर्चाको औचित्य नरहेको बताउनु भएको हो ।
एमाले उपमहासचिव गुरुङले सो मोर्चाको भण्डाफोर गर्दै मिसन ८४ मा लाग्न पार्टीपङ्क्तिलाई निर्देशन पनि दिनुभयो । उहाँले नवनिर्वाचित नेतृत्वले एमाले विरोधी मोर्चाको औचित्य छैन भनेर तलसम्म सन्देश लैजानुपर्ने बताउनु भयो । यस्तै उहाँले अधिवेशनसँगै अब प्रतिस्पर्धाको प्रक्रिया सकिएर पार्टीमा उन्नतस्तरको एकता शुरु भएको बताउनु भयो ।
‘हाम्रो पार्टीभित्र दुई खाले गलत धारणा छन् । चुनावले पार्टी फुट्छ भन्ने एउटा गलत धारणा र मनोनयनले वा सर्वसम्मतिले नेतृत्व निरंकुश हुन्छ भन्ने अर्काे धारणा छ, यी दुवै सोच गलत हुन,’ उपमहासचिव गुरुङले भन्नुभयो, ‘एमाले उन्नत लोकतान्त्रिक अभ्यास गर्ने पार्टी हो,अब चुनावबाट नयाँ नेतृत्व चयनसँगै हामी एकजुट भइसकेका छौ । हमेशा चुनाव र हमेशा सर्वसम्मत दुवै ठिक होइनन ।’
उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा एमालेले मिसन ८४ अभियान सफल बनाउने बताउनु भयो । गण्डकीमा उपमहासचिव गुरुङले समर्थन गर्नुभएका नवराज शर्मा नेतृत्वको प्यानल विजयी भएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आज प्रमाणपत्रसहित बधाई ज्ञापन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्