काठमाडौं, असोज १९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबिरुद्ध गरिएका सवै षडयन्त्र असफल पार्ने उदघोष गर्नुभएको छ । काठमाडौँमा एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो उदघोष गर्नुभएको हो ।
‘विपक्षीहरुले एमालेमाथि षडयन्त्र गरिरहेका छन, जतिसुकै गाडयन्त्र गरिरहे पनि ती सवै षडयन्त्रलाई असफल पारिन्छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।
अध्यक्ष ओलीले पार्टीबिरुद्ध बिरोधीले गरिरहेको घेरावन्दीलाई चिर्ने काममा सवै नेता कार्यकर्ता एकजुट बनेर लाग्नुपर्ने आवश्यकता पनि औल्याउनु भयो । ‘हाम्रा विपक्षीहरुले बुझ्नुपर्दछ । द्रव्य शाहको तरिकाका षडयन्त्रहरु आज सफल हुँदैनन आज प्रतिस्पर्धाबाटै श्रेष्ठता कायम गर्नुपर्छ,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले पार्टी जीवनमा स्वस्थता कायम गर्नुपर्ने बताउनु भयो । उहाँले पार्टीभित्र चुनाव लडेर जितेकाहरु मात्तिएको र हार्नेहरु आँत्तिएको देखिएको भन्दै आन्तरिक प्रतिस्पर्धामा चुनाव सकिएपछि सवै कुरा बिर्सनुपर्ने बताउनु भयो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले एमाले चुनावमा मात्रै नभएर अध्ययनमा, काममा श्रेष्ठता कायम गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । ‘प्रतिस्पर्धाबाट श्रेष्ठता भनेको चुनावमा मात्रै होइन, तपाईले अध्ययनमा श्रेष्ठता, काममा श्रेष्ठता, संगठन निर्माणमा श्रेष्ठता कायम गर्नुपर्छ । कार्यक्षमताको अभिवृद्धि र सक्रियता बढाउनु पर्छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।
अध्यक्ष ओलीले एमाले अधिवेशनलाई लिएर विरोधीहरूले एकोहोरो टिप्पणी गरिरहेको भन्दै त्यसलाई चिर्न सुझाउनु भयो । ‘हाम्रा विपक्षीहरुले अधिवेशनका सन्दर्भमा एकोहोरो खालको टिकाटिप्पणी गर्न पाएका छन । यो अधिवेशनले अर्को टिकाटिप्पणी गर्ने मौका नदिओस,’ अध्यक्ष ’ओलीले भन्नुभयो, ‘अहिलेसम्म लडँभिडेँ भन्ने सन्देश प्रवाहित गरेको छ । यस अधिवेशनले सर्वसम्मति गरेर डेमोक्रेसी नै भएन भन्ने मौका पनि दिऔँ ।’ अध्यक्ष ओलीले चुनाव मात्रै लोकतान्त्रिक पक्रिया नभएको भन्दै पार्टीमा सहमति गर्दा उपयुक्त हुने तर संभव नभए चुनावबाट छान्ने बिधि लिइएको बताउनु भयो ।
‘सबैले जित्ने होइन । नजित्नेको मन दुख्छ । त्यसैले सहमतिमा नै गयो भने कसैको मन दुख्दैन । किन मन दुखाउने ?’ ओलीले भन्नुभयो, ‘उठेपछि जित्नका लागि कतिपय ठाउँमा जसोतसो अभ्यास गरेको देखिन्छ । त्यस्तो नगरौँ ।’
उहाँले चुनावमा सधै सवै राम्रो मानिसले जित्छ भन्न नसकिने बताउनु भयो । ‘नेतृत्वको मुल्यांकनमा भर परिएन र नचिनेकाले भोट दिने अवस्थामाथि भर परियो भने परिणाम जस्तो पनि हुन सक्छ । एउटा प्रदेशको एउटा कुनाको मान्छेले अर्को ठाउँकालाई चिनेको हुँदैन’, सहमति गर्न सुझाउँदै उहाँले थप्नुभयो, ‘कतिपय ठाउँमा हेरिरहेको छु म । चुनाव आफ्ना खुसीले लड्छन् । जितेकामा उन्माद चढेजस्तो देखिने । हारेकामा निराश, खिन्नजस्तो देखिने । त्यस हिसाबले पार्टीको आन्तरिक चुनावलाई लिनुहुन्छ र ?’
अध्यक्ष ओलीले नेकपा एमालेका नेता कार्यकर्ता अन्य दलका भन्दा शिष्ट, सालिन र सभ्य अनि अध्ययनमा उत्कृष्ट हुनुपर्ने बताउनु भयो । अध्यक्ष ओलीले नेकपा एमाले विचारमा आधारित पार्टी भएको र जनताको कुरा सुन्दै अघि बढिरहेको पनि बताउनु भयो । एमाले यसै जम्मा भएको बजार नभएको प्रष्ट गर्दै जनताका कुरा सुनेर त्यसको आधारमा एमालले नीति बनाउने र त्यसमा एकताबद्ध हुने ओलीले बताउनु भयो । ए
माले अनुशासनमा बाँधिएर चल्ने पार्टी भएको चर्चा गर्दै अध्यक्ष ओलीले यो समाजलाई अझ सुन्दर बनाउनुपर्छ भनेर हिँडेको पनि प्रष्ट पार्नुभयो ।
‘एमालेको तुलना अन्य पार्टीसँग हुनै सक्दैन । एमालेसँग मात्रै गन्तव्य छ । अरू कुनै पार्टीसँग छैन,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले अरू पार्टी व्यक्तिका स्वार्थ हुन्छ भनेर हिँडेका र एमाले व्यक्तिको स्वार्थ भन्दा समूह र देशको हित ठूलो हो भनेर लागेको पनि उहाँले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्