जनता टाइम्स

२० आश्विन २०८०, शनिबार १३:०२

निजगढमा ट्रायलमा निस्केको मोटरसाइकल दुर्घटना, एकको मृत्यु


बारा, २० असोज । बाराको निजगढमा ग्यारेजबाट ट्रायलका लागि निस्केको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार यसरी मत्यु हुनेमा ग्यारेजका मिस्त्री २० वर्षीय दिनेश चौधरी रहेका छन् । निजगढ–८ स्थित श्री बाबा एनकेडी ग्यारेजबाट मर्मत गरेर जाँचका लागि निस्किएको ना ६३ प ८४४७ नम्बरको मोटरसाइकललाई नारायणगढबाट धरानतर्फ जाँदै गरेको प्र.१–०२–००१ ख ९७९३ नम्बरको बसले ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक कोल्हबी नगरपालिका–३ जुगवाका चौधरीको घटनास्थलमै मृत्यु भएको हो । बसले ठक्कर दिए पछि चौधरीले चलाएको मोटरसाइकल ना ३ स ९२३७ नम्बरको इ–रिक्सामा ठोक्किन पुगेको थियो । मोटरसाइकलले ठक्कर दिएपछि अनियन्त्रित भएको उक्त इ–रिक्सा प्र २–०३–००१ ह १०६६ नम्बरको अटोसँग ठोक्किएको थियो ।

रिक्साको ठक्करबाट अटो चालक निजगढ–१२ लालका २४ वर्षीय सुकराम बोम्जन, अटोमा सवार सोही ठाँउका २२ वर्षीय सानतेन लामा र जीतपुरसिमरा–१६ का २१ वर्षीय कुलबहादुर थिङ घाइते भएका छन् । घाइतेमध्ये लामालाई निजगढबाट थप उपचारका लागि वीरगन्ज लगिएको प्रहरीले जनाएको छ । प्रहरीले बस चालक सिरहा(१२ का अजय ठाकुरलाई नियन्त्रणमा लिएको छ ।