जनता टाइम्स

२१ आश्विन २०८०, आईतवार १६:२८

सरकार नागरिकप्रति जिम्मेवार छैन भन्ने पुष्टि भयो : शंकर पोखरेल


कैलाली, असोज २१ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार जनताप्रति उत्तरदायी छैन भन्ने पुष्टि भएको ठोकुवा गर्नुभएको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनको उदघाटन समारोहमा बोल्दै महासचिव पोखरेलले यस्तो ठोकुवा गर्नुभएको हो ।

इजरायलमा भइरहेको हमलामा परेर घाइते भएकाहरूका विषयमा पनि सरकारले कुनै चासो नदिएको महासचिव पोखरेलले बताउनु भयो ।
‘९ जना भन्दा बढी विद्यार्थी घाइते भएका छन । २ जनाको अवस्था गम्भीर छ । आफ्ना नागरिकहरूको अवस्था के छ भन्ने बारे पनि जानकारी छैन । दूतावासमा मात्रै सम्पर्क गरेको भन्ने सरकारको जिम्मेवारी यत्ति हो ?,’ महासचिव पोखरेलले प्रश्न गर्दै भन्नुभयो, ‘यो सरकार जनताप्रति, नागरिक प्रति जिम्मेवारी छैन भन्ने कुरा यहि घटनाले पुष्टि गर्छ ।’

उहाँले जनताको विकास र समृद्धिको आधार तय गरिरहेको बेला आफ्नै पार्टीको सरकारलाई एक्लाउन लागेकाहरूलाई जनताले राष्ट्रिय पार्टी समेत नबनाएको भन्दै नेकपा एकीकृत समाजवादीप्रति कटाक्ष गर्नुभयो । एमाले पहिलो पार्टी मात्रै भएर नहुने भन्दै उहाँले अब एकल बहुमतको सरकार बनाउन सक्ने गरी अगाडि बढ्नु पर्ने बताउनु भयो ।

‘नेकपा एमाले पहिलो पार्टी मात्रै भएर हुँदैन । हामी पहिलो पार्टी हुँदा हुँदै पनि हामीले केन्द्र र प्रदेशमा हामीले सरकार बनाउन सकेका छैनौँ । त्यसको अन्त्यको लागि कसैको सहारा विना एक्लै बहुमत प्राप्त पार्टीको लागि नेकपा एमाले बनाउनु पर्छ,’ महासचिव पोखरेलको भनाई थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको विदेश भ्रमणबाट देशलाई कुनै फाइदा नभएको पनि पोखरेलले बताउनु भयो ।