जनता टाइम्स

२२ आश्विन २०८०, सोमबार १७:१०

इजरायलमा ज्यान गुमाउने नेपालीका परिवारलाई दस लाख राहत उपलब्ध गराउने सरकारको निर्णय


काठमाडौं, असोज २२ । सरकारले इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीहरूको परिवारलाई जनही दस लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले हामासको आक्रमणमा परी ज्यान गुमाएका दस जना नेपालीका परिवारलाई राहत स्वरुप सो रकम दिने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

उक्त रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयमार्फत् निकासा गर्ने निर्णय भएको छ । त्यस्तै नेपाली विद्यार्थीहरूको दुःखद निधनप्रति सरकारले मंगलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। नेपालका सम्पूर्ण सरकारी कार्यालय र कूटनीतिक नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको प्रवक्ता शर्माले बताउनु भयो ।

मन्त्री शर्माले इजरायलमा रहेका नेपालीहरूको उद्धारका लागि समन्वय भइरहेको जानकारी पनि दिनुभयो । हामासको आक्रमणमा परी दस जन नेपालीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। एक जना नेपाली भने सम्पर्कविहीन छन्।