जनता टाइम्स

२२ आश्विन २०८०, सोमबार १७:४५

लमजुङमा चाडपर्व लक्षित बजार अनुगमन : मापदण्ड विपरित सञ्चालित पसललाई जरिवाना


लमजुङ, २२ असोज । लमजुङमा बजार अनुगमन कार्यलाई तीव्र पारिएको छ। नजिकिँदै गरेको दसैं तिहार पर्वलाई लक्षित गर्दै जिल्लामा बजार अनुगमन कार्यलाई तीव्र पारिएको हो । जिल्ला प्रशासन कार्यालय लमजुङको नेतृत्व र पर्यटन तथा उद्योग कार्यालय लमजुङको संयोजनमा अहिले जिल्लाका विभिन्न बजारी क्षेत्रमा बजार अनुगमन भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय, लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको नेतृत्वमा सरोकारवालासहितको एक टोलीले शनिबार सुन्दरबजार नगरपालिकाको बजारी क्षेत्र भोटेओडार, सिउँडीबारमा रहेका किराना पसल, तरकारी तथा फलफूल पसलको अनुगमन गरेको हो ।

बजारलाई व्यवस्थित गर्नुका साथै आम उपभोक्ताका हितलाई ध्यान दिइ तीनै तहका सरकारका प्रतिनिधिसहित सरोकारवालाहरुको रोहवरमा बजार अनुगमन गरिएको र यस अभियानलाई आगामी दिनमा पनि प्रभावकारी रूपमा निरन्तरता दिइने सहायक प्रमुख जिल्ला अधिकारी सुयलले बताउनुभयो ।

सुन्दरबजार नगरपालिकाको भोटेओडार, सिउँडीबारका विभिन्न ३१ वटा पसलको अनुगमन गरिएको पर्यटन तथा उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले जानकारी दिनुभयो । अनुगमनका क्रममा तुलनात्मक रूपमा सबैभन्दा बढी म्याद गुज्रेका सामान बिक्री–वितरण भएको, पसलमा मूल्यसूची टाँस नगरिएको, कतिपय पसल बिना दर्ता नै सञ्चालनमा रहेको पाइएको उहाँले उल्लेख गर्नुभयो ।

म्याद गुज्रेका सामान बिक्री वितरण भएका, बिना मापदण्ड सञ्चालनमा रहेका पसल सञ्चालकहरुलाई ऐतअनुसार कारबाहीस्वरुप जरिवाना गरिएको उहाँले बताउनुभयो । भोटेओडार क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा जरिवानास्वरुप ३० हजार राजश्व संकलन भएको उहाँले जानकारी दिनुभयो । यसअघि अनुगमन टोलीले जिल्लाको बेसीशहर नगरपालिका, मस्र्याङ्दी गाउँपालिकाका विभिन्न बजारी क्षेत्रको अनुगमन गरिसकेको छ ।