धनगढी, असोज २४ । नेकपा एमालेले सुदूरपश्चिमको नयाँ नेतृत्व सहमतिबाट चयन गर्न प्रयास जारी राखेको छ । सहमतिका लागि भन्दै नेताहरूले निर्वाचन प्रकिया लम्ब्याइरहेका छन् । मंगलबार निर्वाचन प्रक्रियालाई लम्ब्याएर सहमतिका लागि पदाधिकारीको खाका तयार गरेका नेताहरू त्यसलाई आज मूर्तरुप दिने बताउँछन् ।
अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिव कैलालीकै नेपालु चौधरी र कञ्चनपुरकी कलसा महरालाई बनाउने गरी खाका बनेको छ । सोही खाकामा सहमति गराउने प्रयासमा नेताहरू लागेका छन् ।
अध्यक्षमा उम्मेदवारी दिएका कमल तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउँदले अहिलेसम्म उम्मेदवारी फिर्ता लिनुभएको छैन । उपाध्यक्षतर्फ पनि हजारीसिंह साउँदले उम्मेदवारी फिर्ता फिए पनि कालीबहादुर शाहीसहितका पाँच जनाको उम्मेदवारी यथावत छ ।
सचिवमा उम्मेदवारी दिएका जीवन बमले फिर्ता लिएका छन् भने राजेश खाती र रतनबहादुर रेग्मीको उम्मेदवारी कायमै छ । उपसचिवमा पल्लभराज भट्टले उम्मेदवारी फिर्ता लिनुभएको छ भने अन्यको उम्मेदवारी कायमै रहेको निर्वाचन कमिटीले जनाएको छ । सहमति नभए ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो १ देखि साँझ ७ बजेसम्म मतदान गर्ने कार्यसूची तय गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्