काठमाडौं, २४ असोज । ललितबहादुर शाहीको परिवारले उनको नाममा पाँच लाखको अक्षयकोष स्थापना गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित शारदा माध्यामिक विद्यालयको मातहतमा रहने गरी पाँच लाख ११ हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो । अक्षयकोषको संरक्षकमा स्वर्गीय ललितबहादुरकी पत्नी चन्द्रा राज्यलक्ष्मी शाही रहनुहुनेछ ।
ललितबहादुरका छोरा अरुणबहादुर शाही, दीपक शाही र छोरी शान्ति राणा, हेमन्ती राणा, बसन्ती बस्नेतलगायतले अक्षयकोषका लागि रकम प्रदान गर्नुभएको हो । मंगलबार काठमाडौंमा एक समारोहकाबीच विद्यालयका प्राधानाध्यापक तेजबहादुर सिंहलाई परिवारका सदस्यले अक्षयकोष स्थापनार्थ रकम हस्तान्तरण गर्नुभएको छ । अरुणबहादुर शाहीले बुवाको नामबाट अक्षयकोष राख्न पाउँदा निकै खुसी लागेको बताउनुभयो ।
यस्तै दीपक शाहीले आफ्ना पिताले सिभिल इन्जिनियरका रूपमा सुदूरश्चिममा गरेको सेवाको स्मरण गर्दै यो सानो प्रयासले उनको योगदानको जिवन्ततामा इट्टा थप्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफ्नी आमाको इच्छा अनुसार अक्षयकोष स्थापना गरिएको जानकारी दिनुभयो । ललितबहादुरको जन्म डडेलधुरामा भएको थियो । पछि उहाँ धनगढी–२ मा बसाइसराई गरेर जानुभएको थियो ।
त्यही वडामा शारदा स्कुल रहेकाले आफूहरूको पहिलो रोजाइ बनेको परिवारले जनाएको छ । प्रधानाध्यापक सिंहले तीन जना छात्र र तीन जना छात्रालाई अक्षयकोषको व्याजबाट आउने रकमले प्रत्येक वर्ष छात्रवृतिका रूपमा प्रदान गरिने जानकारी दिनुभयो । गरिव र जेहन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गरिने उहाँले बताउनुभयो ।
विद्यालयमा अन्य व्यक्तिले पनि यस्ता खाले छात्रवृति स्थापना गरेको र विद्यालयले पारदर्शी रूपमा प्रत्येक वर्ष छात्रवृति प्रदान गर्दै आएको उहाँले बताउनुभयो । हाल विद्यालयमा २३ लाख १२ हजार १ सय ११ रुपैयाँको अक्षयकोष पुगेको उहाँ बताउँनुहुन्छ । यसका साथै उहाँले आफू विद्यालयको गुणस्तर अभिवृद्धिमासमेत केन्द्रित रहेको जानकारी दिनुभयो । अहिले विद्यालयमा करिव दुई हजार विद्यार्थी रहेको र नतिजा पनि सन्तोषजनक रहेको उहाँको भनाइ छ ।












प्रतिक्रिया दिनुहोस्