काठमाडौं, असोज २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेश प्रदेश अधिवेशनको उद्घाटन गर्न जनकपुरधाम पुग्नुभएको छ । काठमाडौंबाट विमानमा जनकपुरधाम पुग्नुभएका अध्यक्ष ओलीलाई नेता तथा कार्यकर्ताहरू स्वागत गरेका छन् ।
उहाँको स्वागतका लागि पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, रघुवीर महासेठ, केन्द्रीय सदस्य उमाशंकर अरगरियालगायतका नेता विमानस्थल पुग्नुभएको थियो ।
अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको गठबन्धन सरकार पूर्णरूपमा असफल बताउनुभयो । उहाँले सञ्चारकर्मीको जिज्ञासामा भन्नुभयो, ‘कहिले ढल्छ त्यो नभनौं । तर, यो सरकारको काम छैन ।’ नयाँ सरकार बनाउन नेपाली कांग्रेससँग छलफलमा हुनुहुन्छ ? भन्ने जिज्ञासामा अध्यक्ष ओलीले राजनीतिमा कुनै पनि दलसँग छलफल र संवाद सामान्य विषय भएको बताउनुभयो ।
अध्यक्ष ओलीले जनकपुरधामस्थित पार्टी कार्यालयको नयाँ भवनको उद्घाटनसमेत गर्नुहुने छ । त्यसपछि उहाँले जनकपुरको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा आज दिउँसो १ बजे प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।













प्रतिक्रिया दिनुहोस्