काठमाडौं, २५ असोज । सानोतिनो परिवर्तनले अर्थतन्त्रको सुधार सम्भव नभएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बताउनुभएको छ । महासंघद्वारा आयोजित राष्ट्रिय आर्थिक बहसमा उहाँले शेयर बजार लक्षित केन्द्रीय बैंकको नीतिलगत्तै घटेको बजारले पनि यसलाई पुष्टि गरेको उल्लेख गर्नुभयो । ‘हामीले समयमा सही नीति लिन सकेनौं । अब टालटुले नीतिले तत्काल सुधार सम्भव छैन’, ढकालको भनाइ थियो ।
नेपालको वर्तमान अर्थतन्त्र संवेदनशील मोडमा रहेको बताउँदै उहाँले केही आँकडासमेत प्रस्तुत गर्नुभयो । बैंक वित्तीय संस्थाहरूसँग करिब ५ खर्ब रूपैयाँ लगानी गर्न सक्ने रकम रहेको पनि सुनाउनुभयो । आपूर्ति अधिक हुँदा व्याज घटेर उद्यमी व्यवसायीले रकमको माग गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको टिप्पणी गर्नुभयो ।
‘रेमिट्यान्स हालसम्मकै उच्च अर्थात् महिनामै १ खर्ब १६ अर्ब रूपैया भित्रिएको छ । यसले न बजारमा माग बढाएको छ न औपचारिक रुपमा आयात नै उच्च भएको छ । यी र यस्ता विरोधाभाषपूर्ण तथ्यांक अहिलेको अर्थतन्त्रमा देखिएको छ’, ढकालले भन्नुभयो । उहाँले लगानी, उत्पादन, रोजगारी, राजश्व र वृद्धिको मुख्य स्रोत निजी क्षेत्र भएपनि मौद्रिक नीतिले यो क्षेत्रलाई निराश बनाएको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्