जनता टाइम्स

२७ भाद्र २०७६, शुक्रबार ०७:०७

बामदेवलाई नै दिइयो उम्मेद्वारीबारे निर्णयको जिम्मा


काठमाडौं, भदौ २७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कास्की २ मा उम्मेद्वार बन्ने कि नबन्ने भन्ने निर्णय गर्ने जिम्मा उपाध्यक्ष बामदेव गौतमलाई दिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले उपाध्यक्षमा प्रस्तावित नेता गौतमलाई नै कास्की–२ मा आफ्नो उम्मेद्वारीबारे निर्णय लिन सुझाउनु भएको हो ।

अध्यक्ष निकट एक नेताले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डले गौतमलाई आफ्नो उम्मेद्वारीबारे निर्णय लिन भन्नुभएको हो । ‘दुवै अध्यक्षले कास्की–२ को उपनिर्वाचनमा उम्म्द्वार बन्ने कि नबने भन्ने निर्णय लिन बामदेव कमरेडलाई जिम्मा दिनुभएको छ, गौतमले उम्मेद्वार बन्ने निर्णय गरेको अवस्थामा सचिवालयबाट पारित हुनेछ, उहाँ उम्मेद्वार नबनेको अवस्थामा अर्को ब्यक्तिबारे छलफल हुनेछ,’ नेकपा सचिवालयका ती सदस्यले जनताटाइम्सलाई भने ।

निर्वाचन आयोगले आगामी मंसिर १४ गते कास्की–२ सहित रिक्त स्थानमा उपनिर्वाचन गर्ने मिति तय गरेको छ । तात्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त यो निर्वाचन क्षेत्रमा गौतम उम्मेद्वार बन्ने चर्चा सुरुदेखि नै चलेको हो । अधिकारीकोको गत फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो।

सो क्षेत्रमा लोकप्रिय नेता अधिकारीको निधन भएपछि श्रद्धाञ्जली अर्पण गर्न पोखरा जाँदा नै बामदेव सो क्षेत्रमा उम्मेद्वार बन्ने हल्ला चलाइएपछि उहाँले रविन्द्रकी पत्नी बिद्या भट्टराईलाई उम्मेद्वार बनाउनु पर्ने भन्दै अस्वीकार गर्नुभएको थियो । पछिल्लो समय भने नेता गौतम सो क्षेत्रमा उम्मेदवार बन्ने कि नबन्ने भन्ने दुविधामा हुनुहुन्छ । यो प्रतिनिधिसभाको उपनिर्वाचन हुने एकमात्र क्षेत्र हो ।