कञ्चनपुर, असोज २८ । कञ्चनपुरको एक बिद्यालयका प्रधानअध्यापकले आफ्नो तलव नीजि स्रोतका शिक्षकलाई दामासहीले बाँडिदिनु भएको छ । शुक्लाफाँटा नगरपालिकाको आन्तरिक खिचलोका कारण तलव खान नपाएका निजी स्रोतका शिक्षकलाई प्रधानअध्यापकले आफ्नो आएको तलव बाँडिदिएका हुन ।
नगरपालिकाको किचलोका कारण उनीहरुको तलब रोकिएको छ । दसैँका बेला तलब थाप्न नपाएपछि उनीहरु निराश बनेका छन् । यही अवस्थामा दसैँका बेला बेखर्ची भएका निजी स्रोतका शिक्षकलाई दीपनगर आधारभूत विद्यालयका प्रधानाध्यापक धर्मा भण्डारीले आफ्नै तलव वापतको रकम वितरण गर्नुभएको हो ।
भण्डारीले साउनदेखि असोज महिनासम्मको पाएको तलबबापतको रकम विद्यालयमा कार्यरत निजी स्रोतका छ जना शिक्षक शिक्षिकालाई बराबर पुग्ने गरी बाँडनुभएको छ । ‘दसैँका बेला मेरो खातामा तलब आइपुग्यो । आफूसँग विद्यालयमा पढाउने अति लगनशील शिक्षकलाई दसैँ जस्तो महत्वपूर्ण पर्वको समयमा खाली हात पठाउनसक्ने कुरै भएन, बरु आफू खाली हुनु ठिक छ भनी पाएको तलब पछि सोध भर्ना हुनेगरी बाँडिदिएँ,’ प्रधानअध्यापक भण्डारीले भन्नुभयो ।
नीजि स्रोतका शिक्षकको पीडा महसुस गरी आफ्नो तलव दिएर पठाएको उहाँको भनाई छ । दसैँको बिदा हुनै लाग्दा निजी स्रोतका शिक्षक तलब नपाइएपछि खाली हात घर जान थाले, भावुक भएर हेर्न थाले,’ प्रधानाध्यापक भण्डारीले भन्नुभयो, “मुटु भक्कानियो, मन थाम्न सकिन, त्यसपछि आफ्नै तलबबाट रकम बाँड्ने निधो गरे, बाँडे ।’
तलब नपाएर पीडित भएकाबेला प्रधानाध्यापकले आफ्नै तलबबाट दसैँ खर्चका लागि रकम उपलब्ध गराएपछि निकै सहज भएको विद्यालयका शिक्षक कर्णबहादुर कुवँरले बताउनुभयो । थोरै रकम पाए पनि दसैँका लागि खर्च गर्न पुग्ने भएकाले खुसी भएको उहाँले बताउनुभयो । ‘स्थायी शिक्षक जस्तै हामीले पनि विद्यालयमा पठनपाठनको काम गरेका छौं,’ उहाँले भन्नुभयो, ‘विद्यालय व्यवस्थापन समितिले राखेकाले उसैले तलब व्यहोरोस् भनेर नगरपालिकाले पठाउने अनुदान रोक्दा निकै हैरान छौँ, हतास मनस्थितिमा पनि छौँ ।’
नगरपालिकाले तलव रोकेकोमा उहाँले आपत्ति जनाउनु भयो । गुणस्तरीय शिक्षाको नारा दिएर चुनाव जितेका जनप्रतिनिधिले नगर शिक्षक राख्ने बहानामा विद्यालयमा वर्षौंदेखि पठनपाठनको काम गर्दै आएका शिक्षकलाई विस्थापन गराउन तलब रोक्ने निर्णय कतिको ठिक हो ?,’ उहाँले प्रश्न गर्नुभयो ।
कक्षा १ देखि ८ सम्म पठनपाठन हुने विद्यालयमा एक जना स्थायी र एक जना राहतबाहेक अन्य छ जना शिक्षक निजी स्रोतमा कार्यरत रहेका छन् । विद्यार्थीको संख्या एक सय ६२ रहेको छ । नगरपालिकाले निजी स्रोतका शिक्षकको तलब रोके पनि वडा कार्यालयले विद्यालयलाई दुई लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउने गरी बजेट विनियोजन गरे पनि खाता सञ्चालन नहुँदा विद्यालयको खातामा रकम आई पुगेको छैन ।
खातामा रकम नआइपुग्दा निजी स्रोतका शिक्षकले तलब पाउन नसकेका हुन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्ना लुहारका अनुसार विद्यालयमा पढनेमध्ये ८० प्रतिशत बढी विद्यार्थी दलित समुदायका छन ।
‘अभिभावकको आर्थिक अवस्था कमजोर हँुदा निजी स्रोतका शिक्षकको तलब जुटाउन सकेका छैनौँ,’ उहाँले भन्नुभयो, ‘नगरपालिकाले अनुदान रकम रोक्दा विद्यालय सञ्चालन गर्न निकै अप्ठ्यारो भएको छ,’ उहाँ भन्नुभयो, ‘नगरपालिकाले विद्यालयले निजी स्रोत शिक्षकको तलबबापतको अनुदान रकम रोक्ने हो भने विद्यार्थी अनुपातमा दरबन्दीका शिक्षकको व्यवस्था गर्न सक्नुपर्छ, विद्यालयलाई राजनीति गर्ने थलोका रुपमा विकास नगरी स–साना बालबालिकाको भविष्यका बारेमा सोच्नुपर्छ ।’













प्रतिक्रिया दिनुहोस्