काठमाडौं, असोज २८ । साताको पहिलो दिन आज पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । अघिल्लो दिन अर्थात शुक्रबार प्रतितोला छ सय रुपैयाँ बढेको सुनको मूल्य आइतबार प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रुपैयाँ बढेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको नेपाल सुनचादी ब्यवसायी संघले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्