जनता टाइम्स

२८ आश्विन २०८०, आईतवार १८:३८

मुलुकको अर्थतन्त्र गम्भीर मोडमा छ : पूर्वअर्थमन्त्री पौडेल


रुपन्देही, असोज २८ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकारले कर्मचारीलाई तलब खुवाउनसमेत आन्तरिक ऋण लिनुपर्ने अवस्थामा मुलुकको अर्थतन्त्र पुगेको तथ्य औल्याउनु भएको छ ।

प्रेस चौतारी रुपन्देहीले आज आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापानमा तथा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पौडेलले यस्तो तथ्य औल्याउनु भएको हो । एमाले उपाध्यक्ष पौडेलले अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन सरकारले ठोस कदम चाल्न नसकेको पनि बताउनु भयो । उहाँले मुलुकमा संकटपूर्ण अवस्था कसरी आयो भन्ने विषयमा ध्यान नदिएर सत्तारुढ गठबन्धन दल कसरी सत्तामा बस्ने र रमाउने भन्नेमै सिमित रहेको बताउनु भयो ।

‘मुलुकको अर्थतन्त्रको अपरेसन गर्नुपर्नेमा सरकारले सिटामोल पनि दिन नसकेको अवस्था छ, मेजर अपरेसन गर्नपर्नेछ, सिटामोल छैन, अनि चल्छ ?,’ पौडेलले भन्नुभयो, ‘अर्थतन्त्रको बेथितिलाई यो सरकारले अझै बढाएको छ । नेपाल कालोधनको केन्द्र बन्दैछ, राजस्वबाट साधारण खर्च चल्न सकेको छैन । आन्तरिक ऋण बढ्दैछ, तलब, सामाजिक सुरक्षा कोष, पेन्सन रोकिइरहेको छ, अर्थतन्त्र गम्भीर मोडमा छ ।’

पूर्वअर्थमन्त्री पौडेलले प्रधानमन्त्री तथा अर्थमन्त्रीले अर्थतन्त्र सुधार हुँदैछ भनेर गलत बोलिरहेको बताउनु भयो । ‘अन्तर्राष्ट्रिय सहयोग तल झरेको छ । पूँजी पलयान भइरहेको छ, व्यवसायीको ढाड भाँच्ने अवस्था सृजना हुँदा पनि सरकार मुकदर्शक बनेको छ’, पौडेलले भन्नुभयो ।

पौडेलले नेपाल तस्करी केन्द्रका रूपमा परिचित भएको भन्दै क्विन्टल सुन प्रकरणमा सरकारले उच्चस्तरीय छानविन समिति बनाउन आनाकानी गरेपनि एमालेको निरन्तर दबाबले गठन भएको बताउनु भयो ।