काठमाडौं, असोज २९ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीले इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका १० जना नेपाली बिद्यार्थीका परिवारका लागि १० हजार अमेरिकी डलर सहयाग हस्तान्तरण गरेको छ ।
मञ्चका अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मृतक परिवारका लागि सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
बालकोटमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले एमाले अध्यक्ष ओलीलाई १५ लाख २० हजार रुपैयाको चेक हस्तान्तरण गर्नुभएको हो । सो रकम अन्तराष्ट्रिय मञ्चको तर्फबाट १० लाख र ओएनएफ इजरायलको तर्फबाट ५ लाख २० हजार जम्मा भएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
मृतकको शव नेपाल नआइसकेको कारण परिवारलाई हस्तान्तरणका लागि एमाले अध्यक्ष ओलीलाई हस्तान्तरण गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा अध्यक्षका उम्मेदवार रहनुभएका डा. बद्रि केसी प्यानलका उम्मेदवारसहित ओएनएफ अध्यक्ष थापा आज अध्यक्ष ओलीसँग भेट गर्न बालकोट जानुभएको हो । सो क्रममा उहाँले सहयाग हस्तान्तरण गर्नुभएको हो ।
ओएनएफले संस्थागत रुपमै यसपटक डा. केसी नेतृत्वको टीमलाई सहयोग गर्ने निर्णय गरेको छ । एनआरउनएको संस्थागत बिकासका लागि केसीको एकल नेतृत्व आवश्यक छ भन्ने बिश्वभर रहेका गैरआवासीय नेपालीको चाहनाअनुसार आफूहरुले डा केसीलाई सघाउने निर्णय गरेको ओएनएफका अध्यक्ष थापाले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्