जनता टाइम्स

२९ आश्विन २०८०, सोमबार १६:२५

सेयर बजार २३.१६ अंकले घट्यो


काठमाडौं, २९ असोज । सेयर बजार २३.१६ अंकले घटेको छ । चालु साताको पहिलो कारोबार दिन आज बजार परिसूचक नेप्से २३.१६ अंकले गिरावट हुँदा १८५१.४३ को विन्दुमा बन्द भएको छ । आज नेप्सेमा ४८ लाख ३७ हजार ८९३ कित्ता सेयर किनबेच १ अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० रुपैयाँको कारोबार भएको छ ।

गत बिहीबार १ अर्ब ७० करोडको कारोबार भएको थियो । आज कारोबार भएकामध्ये प्रभु बैंकको संस्थापक सेयर सर्वाधिक ६ करोड २५ लाख रुपैयाँको कारोबार हुँदा हाथवे इन्भेष्टमेन्ट कम्पनीको छ करोड २७ लाख र सिटिजन्स लाइफ इन्स्योरेन्सको ३ करोड ६७ लाखको कारोबार भएको छ ।

आज नेप्सेमा सबै उपसूचकमा जीवन बीमा उपसूचक २.०९ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक २.०४ प्रतिशत र हाइड्रोपावर उपसूचकमा २.०२ प्रतिशतले गिरावट भएको छ । आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ७.८७ प्रतिशतले वृद्धि हुँदा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाइमूल्य ७.३१ प्रतिशत र सुपरमाई हाइड्रोपावरको सेयर मूल्य ४.०४ प्रतिशतले वृद्धि भएको छ ।