जनता टाइम्स

३० आश्विन २०८०, मंगलवार ०९:१८

गैर आवासीय नेपालीले पाउन थाले नागरिकता, एनआरएनए अध्यक्षद्वय बद्रि र कुललाई प्रधानमन्त्रीले गरे हस्तान्तरण


काठमाडौं, असोज ३० । गैर आवासीय नेपाली संघ (एनआरएन) का कार्यकारी अध्यक्ष डा. बद्री केसी र अर्का अध्यक्ष कुल आचार्यले एनआरएन नागरिकता प्राप्त गर्नुभएको छ ।

कर्मथलो रुसलाई बनाउँदै आउनु भएका बद्री केसी र युकेलाई कार्यथलो बनाउनु भएका कुल आचार्यलाई आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनआरएन नागरिकता प्रदान गर्नुभयो ।

लामो समयदेखि एनआरएन नागरिकताको विषय उठान गर्दै आएकोमा ऐन र नियमावली जारी भएपछि नागरिकता वितरणको सुरुआत भएको हो । उहाँहरु दुवैले आ-आफ्नो गृह जिल्लामा प्रक्रिया पूरा गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।

आचार्यको गृहजिल्ला पर्वत हो भने बद्रीले काठमाडौंबाट यो नागरिकता लिनुभएको छ । पर्वत र काठमाडौंका प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्रीलाई नागरिकता प्रमाणपत्र हस्तान्तरण गरेपछि आचार्य र केसीलाई हस्तान्तरण गर्नुभयो । अब देशका ७७ वटै जिल्लाबाट एनआरएन नागरिकता वितरण हुनेछ ।

कार्यक्रममा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नागरिकता एउटा कागजमात्रै होइन मुटुको टुक्रा नै भएको बताउनुभयो । उहाँले आफूहरुले उठाउँदै आएको मुद्दालाई सम्बोधन गरिएकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा एनआरएन नागरिकता प्राप्त गरेका अध्यक्ष आचार्यले नागरिकता लिन पाउँदा आफू भावुक भएको बताउँदै यो नागरिकताले नेपाल र नेपालीलाई जोड्ने बताउनु भयो । उहाँले देशको विकासका लागि विकासमा एनआरएन अझ बढी लाग्ने बताउनु भयो । ‘मातृभूमीको गुण तिर्नका लागि सधैका लागि तयार छौं,’ आचार्यले भन्नुभयो । उहाँले मातृभूमीको माटो विदेशमा लगेर नबेच्न सबै एनआरएनलाई आग्रह गर्नुभयो ।

यस्तै, एनआरएनका कार्यकारी अध्यक्ष डा. बद्री केसीले नागरिकता अभियानलाई सार्थक बनाउन पहल गर्ने सबैलाई धन्यवाद दिनुभयो । सवै राजनीतिक पार्टीहरु एक मत भएर नागरिकताको निरन्तरता गराएको भन्दै केसीले आभार प्रकट गर्नुभयो । नागरिकता पेपर (कागज) मात्रै होइन यसले आफूहरुलाई थप अभिभारा बढाएको केसीको भनाई छ । अब एनआरएन नागरिकता बंशजकै आधारमा हुनुपर्नेमा जोड पनि अध्यक्ष केसीले दिनुभयो ।

नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।

एनआरएन नागरिकता पाएकाहरुले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन् । तर उनीहरुले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न पनि पाउँछन् ।यदि नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहित विपरीतको कार्य गरेको ठहरेमा नागरिकता रद्द गर्न सकिने व्यवस्थासमेत ऐनमा छ । गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा-बुबा, हजुरबुबा-हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने हुन्छ ।