काठमाडौं, असोज ३० । कात्तिकको लागि ब्याजदर सार्वजनिक गरेका २० वाणिज्य बैंकमध्ये दुई वटा बैंकबाहेक सबैले मुद्दती निक्षेपको माथिल्लो सीमा घटाएका छन ।
बैंकहरूमा तरलता रहे पनि कर्जाको माग घटेपछि बैंकहरूले निक्षेपको ब्याजदर घटाएका हुन । केही बैंकले अघिल्लो पटकको भन्दा मुद्दती निक्षेपको ब्याजदर बढाएको भएपनि सार्वजनिक गरिएको तथ्यांकमा अघिल्लो पटक यो खातामा दिइएको अधिकतम ब्याजदरको तुलनामा भने घटेको छ ।
बैंकहरूले कात्तिकमा राखिने मुद्दती निक्षेपमा अधिकतम ११.००३ प्रतिशतसम्म ब्याजदर दिने भएका छन । असोजमा बैंकहरूले मुद्दती निक्षेपमा अधिकतम ११.०५ प्रतिशत ब्याजदर दिएका थिए ।
एनएमबी बैंक र नेपाल एसबिआई बैंकले मुद्दती निक्षेपको माथिल्लो ब्याजदर सीमा बढाएका छन । एनएमबी बैंकले मुद्दती निक्षेपको दुवै सीमा बढाएको छ । यसअघि मुद्दतीमा ८ देखि ९.९९ प्रतिशतसम्म दिइरहेको एनएमबीले ९.३३ देखि ११.००३ प्रतिशतसम्म दिएको छ ।
नेपाल एसबिआई बैंकले पनि यसअघि मुद्दतीमा ७.२० देखि १० प्रतिशतसम्म दिइरहेकोमा ७.६० देखि १०.७० प्रतिशतसम्म दिएको छ ।
यससँगै अब वाणिज्य बैंकहरूमा मुद्दती निक्षेपमा रकम राख्दा न्यूनतम ५.५० प्रतिशतदेखि अधिकतम ११.००३ प्रतिशतसम्म ब्याजदर पाइने भएको छ ।
रेमिटेन्स मुद्दती खातामा भने योभन्दा बढी ब्याजदर पाइने छ । अधिकतम ११.००३ प्रतिशतसम्म ब्याजदर दिनेमा मात्रै तीन बैंक छन । हिमालयन बैंक, एनएमबी बैंक र एनआइसी एशिया बैंकले मुद्दती निक्षेपमा यस्तो ब्याजदर दिएका हुन । यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकले मुद्दती निक्षेपमा ५.५० देखि ९.२२ प्रतिशतसम्म दिएको छ । कात्तिकमा ४ वटा वाणिज्य बैंकले साधारण बचतको ब्याजदर समेत बढाएका छन । कृषि विकास, लक्ष्मी सनराइज, एनआइसी एशिया र एनएमबी बैंकले ब्याजदर बढाएका हुन ।
कात्तिकमा वाणिज्य बैंकहरूले साधारण बचतमा ४.२२ प्रतिशतदेखि ८.००३ प्रतिशतसम्म ब्याजदर दिने भएका छन । असोजमा वाणिज्य बैंकहरूले साधारण बचतमा न्यूनतम ४.९५ प्रतिशतदेखि ८.३५ प्रतिशतसम्म ब्याजदर दिएका थिए । एनआइसी एशिया र एनएमबी बैंक दुवैले साधारण बचतमा ६.००३ देखि ८.००३ प्रतिशतसम्म ब्याजदर दिने भएका छन भने लक्ष्मी सनराइज र कृषि विकास बैंकले साधारण बचतको माथिल्लो सीमा बढाएका छन ।
त्यस्तै, वाणिज्य बैंकहरूले कर्जामा भने आधार दरको एक प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर लिने भएका छन । बैंकहरूको आधार दर भने महिना सुरू भएको एक सातापछि मात्रै सार्वजनिक हुने व्यवस्था रहेको छ ।













प्रतिक्रिया दिनुहोस्