जनता टाइम्स

३० आश्विन २०८०, मंगलवार १७:५७

एनआरएनएलाई चन्द्र ढकालको सुझाव : अब कुरा होइन काम गरेर देखाउनोस


काठमाडौं, असोज ३० । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अव कुरा होइन काम गरेर देखाउन सम्पुर्ण गैरआवासीय नेपालीलाई सुझाव दिनुभएको छ ।

आजबाट काठमाडौंमा सुरु भएको एनआरएनएको ११औं बिश्वसम्मेलन, एनआरएनए अन्तर्राष्ट्रिय महासभा र तेस्रो एनआरएन ज्ञान विश्व सम्मेलनमा बोल्दै अध्यक्ष ढकालले यस्तो सुझाव दिनुभएको हो ।

अध्यक्ष ढकालले मुलुकको समृद्धिका लागि काम गर्ने बेला आएको भन्दै गैर आवासीय नेपालीसमक्ष लगानी बढाउन आग्रह गर्नुभयो । उहाँले नेपालमा लगानीको प्रशस्त सम्भावना भएको उल्लेख गर्दै मातृभूमिमा देखाउन मिल्ने खालको काम गर्न सुझाव दिनुभयो । ‘अब एनआरएनएले नेपाली मातृभूमिमा देखाउन मिल्ने उत्कृष्ट मोडलको काम या प्रोजेक्ट कुन हो भनेर देखाउनुपर्ने दिन पनि आएको छ,’ ढकालले भन्नुभयो ।

अहिलेको पुस्ताले कुराभन्दा बढी काम मन पराउन थालेको भन्दै ढकालले उनीहरूले बाहना नपत्याउने बताउनु भयो । ‘अहिलेको पुस्ता कुरा होइन, काम गर्न मन पराउँछ । हाम्रा सन्ततिहरुलाई पनि अब कुरा मन पर्न छोडिसक्यो । उनीहरु यो वा त्यो भयो भन्नेमा बहानामा या ‘कन्टेक्स्ट’ मा विश्वास गर्दैनन, ‘कन्टेन्ट’ चाहन्छन,’ ढकालले भन्नुभयो, ‘हामीले भोलिको पुस्ताका लागि पनि केही गर्नुछ, उनीहरुलाई बाटो देखाउनु छ त्यसैले अब काम नै थालौँ भन्ने मेरो आग्रह हो ।’

उहाँले गैरआवासीय नेपालीहरुलाई सम्मेलनमार्फत कुनै ‘प्रोजेक्ट’ सञ्चालनका लागि प्रतिबद्धता व्यक्त गर्न समेत सुझाव दिनुभएको छ ।