काठमाडौं, कात्तिक ४ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा सहभागी सवै प्रतिनिधिलाई धन्यवाद दिनुभएको छ ।
मञ्चका अध्यक्ष थापालेले एनआरएनएको निर्वाचनमा मञ्चले समर्थन गरेको अध्यक्षका उम्मेदवार रसियाका डा. बद्रि केसीलाई बिजयी बनाउन मतदान गर्ने सवैप्रति आभार प्रकट गर्नुभएको छ ।
एनआरएनएको ११ औँ विश्व सम्मेलनबाट अध्यक्षमा डा. बद्री केसी १३७८ मत प्राप्त गरी बिजयी हुनुभएको घोषणा शुक्रवार गरिएको थियो । तर निर्वाचनमा धाँधली भएको भन्दै अध्यक्षका प्रत्यासी राजेन्द्रकुमार (आरके) शर्मा र महेश श्रेष्ठले परिणाम अस्वीकार गरेपछि केही बिवाद भयो । यद्यपी आज दुवै जनाले कमीकमजोरीलाई आगामी दिनमा सच्याउँदै यस घटनाको छानविन गर्न सहमत भएपछि एनआरएनएको बिवाद सल्टिएको छ ।
प्रवासी नेपाली मञ्चका अध्यक्ष थापाले नवनिर्वाचित कमिटीले यस घटनाको बिषयमा छानविन गरी आगामी दिनमा यथार्थ जानकारी गराउन सुझाव पनि दिनुभएको छ । निर्वाचनमा नेपालबाट गरिएको मतदानमा उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको मत सून्य देखिएपछि अनलाइन भोटिङ प्रति नै प्रश्न उठाउँदै बिवाद भएको थियो ।
तर भेरोले नेपाल र अनलाइन सिष्टममा भेरिफिकेशन गरिएका नामको स्पेलिङ फरक परेकाले गणना नभएकोप्रष्ट पारेपछि उहाँ निर्वाचित हुनुभएको छ । निर्वाचनमा पौडेलसँगै रामशरण सिम्खडा, डा हेमराज शर्मा, डा विनोद श्रेष्ठ, रोविन शेरचन, राजु रेग्मी विजयी हुनुभएको छ । यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान विजयी हुनुभएको छ ।
यसैगरी महासचिवमा गौरीराज जोशी, उपमहासचिवमा प्रविन गुरूङ र सोमनाथ सापकोटा, सचिवमा भिम केसी कमल, डा ज्ञानेन्द्र रेग्मी, मनोजकुमार श्रेष्ठ, डा नवराज रोस्यारा, प्रकाशमणि पोखरेल र स्वराजप्रताप शाह विजयी हुनुभएको छ । यस्तै महिला सचिवमा राधिका गुरूङ टीका, कोषाध्यक्षमा सुदनकुमार थापा, सहकोषाध्यक्षमा अमृता थापा, कृष्णप्रसाद तिमल्सिना, अभिमन्यू बस्नेत र तिलकप्रसाद गैरे बिजयी हुनुभएको छ । यसैगरी अन्तर्राष्ट्रिय महिला संयोजकमा अनुजा प्रधान, युवा संयोजक सुपेन्द्र घिसिङ बिजयी हुनुभएको छ ।
प्रवासी नेपाली मञ्चका अध्यक्ष थापाले बिजयी सवैलाई बधाई दिँदै उपबिजेताहरुलाई पनि एनआरएनएको अभियानमा लाग्न सुझाव दिनुभएको छ । चुनावमा हारजीत हुने भन्दै थापाले यसलाई सहज रुपमा लिनुपर्ने पनि बताउनु भएको छ ।
‘जे जस्ता कमी कमजोरीहरु देखिएका छन, निर्वाचित कमिटीले छानविन गरी सत्य तथ्य बाहिर ल्याउनुपर्छ, चुनावमा जे परिणाम आयो, त्यसलाई स्वीकार गरेर निर्वाचित कमिटीलाई सहज बातावरणमा संस्थाको हित अनुसार काम गर्न सघाउनु पर्छ,’ अध्यक्ष थापाले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्