जनता टाइम्स

२७ भाद्र २०७६, शुक्रबार १५:५८

आइजीपी सर्वेन्द्र खनाल हटाउन गुन्डा नाइके समिरमानले बनाए गृहमन्त्री बादलका भाईलाई नै मोहरा


काठमाडौं, भदौ २७ । केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई पदच्यूत गरी आफ्नो साम्राज्य खडा गर्न गृहमन्त्री राबहादुर थापा, बादलका भाई नरेश थापालाई आफ्नो ग्याङमा समावेस गराएको तथ्य खुलेको छ । जिल्ला अदालतमा मुद्दा दायर भएसँगै प्रहरीको अनुसन्धानबाट गुण्डा नाइके बस्नेतले ठुलै आपराधिक घटना घटाएर आइजीपी खनाललाई हटाउने योजनासहित गृहमन्त्री थापाका भाई नरेशलाई सहभागी गराएको पाइएको हो ।

प्रहरीको अनुसन्धानबाट गृहमन्त्री थापाका साइँला भाई नरेश थापा दाजुको नाममा कोलो पोत्दै आपराधिक गिरोहसँग साँठगाँठ बढाएको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को एक महिना लामो अनुसन्धानबाट नरेश गृहमन्त्री थापाको नाम लिँदै प्रहरी र गृह प्रशासन मिलाउने भनेर आपराधिक गिरोहसँग हिमचिम बढाएको तथ्य खुलेको हो ।

प्रहरी अनुसन्धानबाट देखिएअनुसार नरेशले केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके बस्नेतसँग नियमित भेटघाट तथ्यसमेत फेला परेको छ । निर्माण व्यवसायीलाई धम्क्याएर चन्दा असुली गर्ने र गुन्डागर्दी गर्ने योजना बनाइरहेको बेला पक्राउ परेका पवन खड्का र शैलेश प्रजापतिको बयानपछि प्रहरीले निकालेको कल डिटेलअनुसार थापाले बस्नेतसँग नियमित सम्पर्क गरेको देखिएको हो । आफ्नो दाजु गृहमन्त्री रहेकोले सवै सेटिङ मिलाउने भन्दै गुण्डा नाइकेसँग हिमचिम बढाएका थापालाई आपराधिक गिरोहसँगको संलग्नता पुष्टि भएपछि गत मंगलबार पक्राउ गरिएको थियो । केन्द्रीय कारागारले जनाएअनुसार नरेशले तत्कालीन माओवादीका एक कार्यकर्तासँग केन्द्रीय कारागार पुगेर समीरमानसँग भेट गरेका थिए ।

कारागारको सुरक्षामा खटिएका प्रहरी निरीक्षक विपीन ओझाले सिआइबीलाई दिएको बयानमा समीर र थापाको भेट भएको खुलासा गरेका हुन । ‘२/३ महिनाअघि उहाँ (थापा) आउनुभएको हो, उहाँ तत्कालीन माओवादीका कार्यकर्ता तुलसीको साथमा आउनुभएको थियो’, सिआइवीलाई इन्सपेक्टर ओझाले दिएको बयानमा भनिएको छ । त्यसैगरी पक्राउ परेकामध्ये पवन खड्काले हाल फरार रहेका जावेद भनिने जावेद अनवरदिनलाई पटकपटक म्यासेज गरेर ‘हाम्रो कामको साथमा गृहमन्त्रीका भाइ नरेश थापा छन, उनले हामीलाई बचाउँछन’ भन्ने उल्लेख गरेका थिए ।

‘हाम्रो काममा गृहमन्त्रीकै भाइ रहेका कारण डर मान्नुपर्दैन, जेलमा गएर समीर दाइसँग पनि भेट गरेर आउनुभएको छ । ढुक्क भएर काम अघि बढाऔं भनेको हुँ’, पवनले प्रहरीसँगको बयानमा भनेका छन । उनले पटक पटक यो थापाले नरेशले आफूहरुको आपराधिक योजनामा सघाउने ठोकुवा गरेका छन । ‘हामीलाई यो काममा सहयोग गर्ने नरेशकुमार थापा नै हो,’ सहयोगीलाई म्यासेज पठाउने क्रममा भनेका शब्द उल्लेख गर्दै पवनले बयानमा भनेका छन । पवनसँगै पक्राउ परेका शैलेश प्रजापतिले पनि सोही प्रकारको बयान दिएका छन ।

प्रजापतिका अनुसार आफ्नो फुड कोर्ट भन्ने खाजा पसलमा आएर थापाले ‘ढुक्क भएर काम गर्नुस, मेरो साथ छ’ भनेको थिए । ‘उहाँ (थापा) मेरो खाजा पसल फुड कोर्टमा आउनुहुन्थ्यो, कुनकुन ठेकेदारसँग पैसा उठाउने र कतिकति लिने भन्नेबारेमा मेरै खाजा पसलमा योजना बनेको हो, उहाँसहित बनेको योजनाअनुसार दीपक गौतम, जयराज लामिछाने, लाक्पा गेलु शेर्पालगायतका ठेकेदारसँग पैसा उठाउने विषयमा कुराकानी भएको हो,’ प्रजापतिले बयानमा भनेका छन ।

त्यस्तै जेलमा रहेका मनबहादुर पुनले पनि थापाले जेलमै पुगेर समीरमानलाई भेटेका थिए । अनुसन्धानबाट खुलेअनुसार समीरमानले भनेअनुसार कारागारमा कार्यरत प्रहरी जवान वीरबल भट्टराईले आफ्नै भतिजोलाई दुईवटा मोबाइल किन्न लगाएर एउटा समीरलाई र अर्को पुनलाई दिएका थिए । पुन पनि पूर्वप्रहरी भएको खुलेको छ । सिआइबीले ठेकेदार जयराम लामिछाने, दीपक गौतम, लाक्पा नुरु शेर्पासहित २५ जनाको सामूहिक जाहेरीको आधारमा अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा थापासहित आठ जना पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा गृहमन्त्री थापाका भाइ थापासहित काठमाडौं स्युचाटारका पवन खड्का, काठमाडौं इचंगुनारायणका सुरेन नगरकोटी, काठमाडौं भेडासिंहका शैलेश प्रजापति, काठमाडौं नागार्जुनका विनोद लामा, प्रहरी जवान वीरबल भट्टराई रमनबहादुर पुन मगर छन्। पक्राउ परेको प्रहरी जवान भट्टराई केन्द्रीय कारागार सुन्धारामा कार्यरत थिए । घटनामा संलग्न एक जना बाग्लुङका जावेद अनवरदिन भने फरार छन । उनलाई फरार प्रतिवादी बनाएरमुद्दा दायर गरिएको छ । उनले दुबईमा बसेर इन्टरनेटमार्फत नेपाली व्यवसायीहरूलाई धम्क्याउँदै रकम असुलेको अभियोग छ ।

प्रहरीसँगको बयानमा उनीहरुले ठेकेदारहरू जयराम लामिछाने, दीपक गौतम र लाक्पागेलु शेर्पाले आफूहरूसँग समीर र थापाको नाम लिएर पैसा मागेको, नदिए ज्यान मार्ने धम्की दिएको उल्लेख गरेका छन । नेपाल निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरद गौचन हत्यामा अहिलेसम्म मुख्य योजनाकारसमीरमानसहित, राजीव स्याङ्तान, शिवजी महतो, मुकेशकुमारपाण्डे, प्रकाश बुढाथोकी, सन्तोष गुरुङ, लोप्साङ लामा, अम्बरबहादुर राना, श्यामबहादुर गुम्बे र रोशन बुढाथोकी पक्राउ परिसकेका छन ।

सोही हत्यामा जोडिएका मनोज पुन भने २०७४ फागुन ९ गते रूपन्देहीको ‘इन्काउन्टर’ मा मारिएका छन । हाल सो हत्याकाण्डसँग जोडिएका समीरमानको ग्याङमा गृहमन्त्री थापाका भाइ नरेश थापा पनि जोडिएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार आफ्नो ग्याङलाई सर्वशक्तिमान बनाएर अपराधको साम्राज्य खडा गर्न समिरमानले यो योजना बनाएको देखिएको छ । सोही कामका लागि गृहमन्त्रीका भाई नरेशलाई उपयोग गरिएको हो ।

‘गौचनको हत्यामा दोषी ठहर भई केन्द्रीय कारागारमा रहेका समीरमान सहज रुपमा जेलबाट बाहिर निस्कन प्रधानमन्त्री वा गृहमन्त्रीनिकट व्यक्ति खोजिमा थिए । उनी अन्ततः सहयोगीमार्फत गृहमन्त्रीका भाई नरेश थापासम्म पुगेर आफ्नो योजना अघि बढाएको अनुसन्धानले देखाएको छ,’ सिआइवीका एक अधिकृतले जनताटाइम्ससँग भने । ती अधिकृतका अनुसार नरेशसँग समिरमानको योजना पूरा गर्न सवैभन्दा पहिला शैलेश प्रजापतिले सम्पर्क गरेका हुन । तात्कालिन माओवादीको भातृ संगठन वाईसीएलमा रहेको बेला नरेशसँग प्रजापतिको चिनजान भएको थियो । सोही आधारमा उनले समिरमानलाई यो सूचना दिएका थिए ।

प्रहरीका अनुसार समीरमानको लक्ष्य पहिलो केन्द्रीय कारागारमै रहने, दोस्रो जेलमा बस्दा राम्रो व्यवहार देखाएको पत्र बनाउने अनि त्यसपछि सहज हिसाबले जेलबाट बाहिरिने थियो । त्यो काम फत्ते गर्न उपयुक्त पात्र समिरमानले नरेशलाई देखपछि सम्बन्ध अघि बढेको प्रहरीको भनाई छ । अनुसन्धानमा संलग्न अधिकृतका अनुसार गृहमन्त्री थापाका भाई नरेशले शैलेशको प्रस्ताव सहजै स्वीकार गरेको पाइएको छ । ‘लगातार धम्की आएपछि निर्माण व्यवसायीहरु गृहमन्त्री थापासमक्ष डेलिगेसन गएर भनेको विषयसमेत नरेशले समीरमानलाई सुनाएको पाइयो,’ अनुसन्धानमा संलग्न अर्का अधिकारीले भने, ‘गृहमन्त्रीसँग सुरक्षा निकायको ब्रिफिङलाई समेत नरेशले समीरमानसमक्ष पुर्याएको पाइयो ।’

नरेशसँगको संवादलाई शैलेश र पवनले दुबईमा बसेर हुन्डीको काम गर्ने बागलुङका जावेद अनवरदिनलाई अपडेट गर्ने गरेको पनि प्रहरीले बताएको छ । उनी प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैंटे’ निकट हुन । घैंटे इन्काउन्टरले जावेद प्रहरी महानिरीक्षक खनालसँग रुष्ट रहेको बयान पवनले दिएका छन । अनुसन्धानबाट खुलेअनुसार समीरमान र जावेदले केही दिनभित्रै दुई निर्माण व्यवसायीको हत्या गर्ने योजना बनाएका थिए । त्यसका लागि उनले हतियार व्यवस्थापनदेखि व्यवसायीको घरसमेत रेकी गरेका थिए । प्रहरीसँगको बयानमा पवनले गृहमन्त्री थापा र आइजीपी खनाल फाल्नका लागि यति धेरै काम भएको खुलासा गरेका थिए ।

‘लगातार धम्की आएपछि निर्माण व्यवसायीहरु गृहमन्त्री थापासमक्ष डेलिगेसन गएर भनेको विषयसमेत नरेशले समीरमानलाई सुनाएको पाइयो,’ अनुसन्धानमा संलग्न अर्का अधिकारीले भने, ‘गृहमन्त्रीसँग सुरक्षा निकायको ब्रिफिङलाई समेत नरेशले समीरमानसमक्ष पुर्याएको पाइयो ।’

‘दुई हत्याकाण्डपछि गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई पदच्युत गर्न नैतिक दबाब पर्ने भएकाले उक्त योजना जसरी पनि सफल पार्ने मोडमा समीर देखिन्थे,’ पवनको बयान उधृत गर्दै अनुसन्धानमा संलग्न एक अधिकारीले भने । पवनको बयानअनुसार खनाल पदच्युत भएपछि आफूले चाहेको व्यक्ति प्रहरी महानिरीक्षक बन्ने र जेलबाट सहज रुपमा निस्किने योजना समीरमानको थियो । उनले चाहेको ब्यक्तिबारे प्रहरी र गृह नेतृत्व जानकार रहेको ती अधिकारीले बताए ।

आइजीपी सर्वेन्द्र खनाल रहुञ्जेल आफ्नो योजना सफल हुन नदिने भएकोले हाइ प्रोफाइल ब्यक्तिको हत्या गरी खनाललाई हटाउने र गृहमन्त्रीसमेत हटाउने बातावरण बनाउने समिरमानको योजना थियो । ‘यो आइजी हुँदासम्म केही गर्न सकिँदैन भन्ने कुराकानीको प्रमाणसमेत भेटिएको छ,’ सिआइवीका ती अधिकारीले जनताटाइम्ससँग भने ।

उनका अनुसार केही समय पहिला आइजीपी र गृहमन्त्रीलाई दोष जाने गरी पत्रकारको हत्या योजना बनाएका थिए समिरमान । त्यो पनि असफल भएपछि अहिले गृहमन्त्रीकै भाइलाई मोहरा बनाएर गृहमन्त्री र आइजीपी फाल्ने योजना बनाएका हुन । ‘गृहमन्त्रीका भाई नरेश आर्थिक प्रलोभनमा समिरमानको अपराधकर्ममा भर्याङ बनेको देखिन्छन,’ ती अधिकृतले भने ।