जनता टाइम्स

२७ भाद्र २०७६, शुक्रबार १६:२०

काठमाडौंको भित्री शहरको सम्पदा हेरेपछि लोभिए इन्द्रजात्रा अवलोकनमा आएका बिदेसी पाहुना


काठमाडौं, भदौ २७ । इन्द्रजात्रा पर्व अवलोकनका लागि काठमाडौं महानगरपालिकाको पहिलो र औपचारिक निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरूले आज पदयात्रा गरी काठमाडौंको पुरानो भित्री शहरका विभिन्न स्थानहरू अवलोकन भ्रमण गर्नुभएको छ । पदयात्रा अघि उहाँहरूलाई हनुमानढोका दरवार क्षेत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायत विभिन्न पदाधिकारीहरूले स्वागत गर्नुभएको थियो ।

अवलोकन भ्रमणमा चीनको लान्जाउ सिटीका मेयर जियाङ सियावहोङ, भूटानको थिम्पू नगरका मेयर किन्ले दोर्जीलगायत चीन, भारत, अमेरिका, भूटान र जापानका दश शहरबाट नेपाल आउनु भएका पदाधिकारीहरू सहभागी हुनुभएको थियो । भारतको नर्थदिल्ली नगरपालिकाका मेयर सरदार अवतार सिंह भने आजै नेपाल आउनु भएका कारण टोलीमा पछि मात्रै सहभागी हुनुभएको थियो ।

त्यस्तै चीनको ल्हासाका मेयर गुहेओ गुहेओ पनि दूतावाससँगको विशेष छलफलमा सहभागी हुनुभएका कारण भ्रमणमा सहभागी हुनु भएन । त्यस्तै बंगलादेशको दक्षिणी ढाका नगरपालिकाका मेयर मोहम्मद सयीदखोकनले आफू डेंगु विमारीका कारण आउन नसकेको भन्दै आज विहान मात्रै काठमाडौंका मेयर विद्या सुन्दर शाक्यलाई सन्देश पठाउनु भएको थियो । काठमाडौंको हनुमानढोका दरवार क्षेत्रबाट शुरु भएको उक्त अवलोकन पदयात्राको क्रममा काठमाडौंको पुरानो झोछेँ टोल हुँदै नःबही, मञ्जुश्रीनकमहाविहार (बिकमाबहाः), थानबहाः, भिमसेनको मन्दिर, काष्ठमण्डप, सिँल्यं सतः, माजु देगः, मरु देगः, मरुहिटी, यट्खाबहाः, इतुम्बहाः, जनबहाः, आकाशभैरव, स्वेत भैरवहुँदै हनुमानढोका दरवार क्षेत्रको अवलोकन गर्नुभएको थियो ।

पदयात्राका क्रममा पाहुनाहरुको स्वागतका लागि अघि–अघि परम्परागत धिमे बाजा र धुन्याको समेत व्यवस्था गरिएको थियो । विदेशी पाहुनाहरूको उक्त पदयात्रालाई विभिन्न ठाउँमा स्थानीयबासीले सगुन, फूल, अक्षता र टीका प्रदान गरी स्वागत गर्नुभएको थियो भने विभिन्न ठाउँमा स्थानीय परम्परा अनुसारका स्वागत गरिएको थियो । सोही अवसरमा काठमाडौँका मेयर, उपमेयरसहित विदेशी पाहुनाहरुले हनुमानढोका दरवार परिसरमा नेवाः राष्ट्रिय पत्रकार दबू काठमाडौं जिल्लाद्वारा आयोजित इन्द्रजात्रा फोटो प्रदर्शनीको संयुक्त उद्घाटन गर्नुभयो ।

भिजिट नेपाल –२०२० लाई समेत ध्यानमा राखी काठमाडौं महानगरपालिकाले इन्द्रजात्राको अवसर पारेर विदेशी पाहुनालाई पहिलो पटक औपचारिक रुपमा निमन्त्रणा गरेको हो । विदेशी पाहुनहरुसँगै करीब तीन घण्टा पदयात्रामा सहभागी हुनुभएका काठमाडौं महानगरपालिकाका मेयर शाक्यले उहाँहरुलाई साथमै लिएर काठमाडौं शहर निर्माणको वास्तुशैली, संस्कृति र मौलिक सामाजिक जीवन समेत विश्वका सामू प्रदर्शन गर्ने अवसर मिलेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

उहाँले विदेशी पाहुना पदयात्रामा सहभागी हुँदा खुशी भएको पनि बताउनु भयो । अवलोकन भ्रमणमा सहभागी हुनुभएका थिम्पूका मेयर किन्ले दोर्जीले काठमाडौंका पुराना बौद्ध बहाःबहीहरूमा पुग्दा आफूमा आध्यात्मिक भावना उत्पन्न भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘म आफू पनि बौद्धमार्गी भएकोले होला, तीबहालहरूमा पुग्दा मलाई अत्यन्तै आत्मिक महसुस भयो ।’ अमेरिकाको बोल्डर नगरबाट आउनु भएका प्रतिनिधि रोनाल्ड एडवार्ड पेरिजले अवलोकनबाट आफूले धेरै नै जानकारीहरू प्राप्त गरेकोले हिँडेको पत्तै नभएको बताउनुभयो । ‘करीब तीन घण्टा हिँडेको त मैले चालै पाइन,’उहाँले मुस्कुराउँदै भन्नुभयो ।

हनुमानढोका दरवार क्षेत्रमा आयोजित फोटो प्रदर्शनीमा राखिएको तस्वीरमा जात्रालुहरूको भीड देखेपछि जापानको मात्सुमोटो सिटीबाट आउनुभएका प्रतिनिधि माकोतो सोनेराले जात्रामा पनि यति धेरै मान्छेहरू आउँछन् र भनी आश्चय प्रकट गर्नुभयो । अवलोकन गरिएका विभिन्न बहाःबहीहरूमा राखिएका काठका झ्यालका कलात्मक बुट्टाहरू हातैले कुँदेका हुन् र भनी विभिन्न प्रतिनिधिहरूले ठाउँठाउँमा आफ्ना सहयोगीहरूलाई सोधेका थिए ।

काठमाडौंका मेयर शाक्यले विदेशी पाहुनाहरूले अवलोकन भ्रमणलाई अत्यन्त सकारात्मक रुपमा लिएकोले यसबाट देश विदेशमा नेपाल चिनाउन सहयोग मिल्ने बताउनु भयो । चीनको लाञ्चाउबाट कमिटिअफ द सिपिपिसिसिका उपाध्यक्ष ज्याङ् सिओहाङ्, चीनको सियान, छेन्दु, सेञ्जेन र नान्जिन, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकबर्ग र बोल्डर नगरका ४ मेयरसहित ४१ जना इन्द्रजात्रा अवलोकनका लागि नेपालआउनु भएको छ । उहाँहरुले आजै इन्द्रजात्राको अवलोकन समेत गर्नुहुने कार्यक्रम छ ।