जनता टाइम्स

१६ कार्तिक २०८०, बिहीबार १०:५०

नेपालको सानदार बलिङ, १४५ रनमा समेटियो ओमान


काठमाडौं, कात्तिक १६ । टी–२० विश्वकप क्वालिफायरको समूह चरणको अन्तिम खेलमा ओमानले नेपाललाई जितका लागि १४६ रनको लक्ष्य दिएको छ ।

नेपालका बलरहरूले उत्कृष्ट बलिङ गर्दै ओमानलाई सामान्य योगफलमा रोकेका हुन् । आजको खेलमा करण केसीले सर्वाधिक तीन विकेट लिएका छन । नेपालले ओमानविरुद्ध ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रमा खेल जित्न १ सय ४६ रनको लक्ष्य पाएको छ । नेपालले बिहीबारको टस जितेपछि ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभर मा ९ विकेट गुमाई १ सय ४५ रनमात्र बनायो ।

नेपालले यस खेल जितेमा समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल खेल्ने छ । नेपाल र ओमान पहिलो दुई खेल जितेर समूह ‘ए’ बाट यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा करण केसीले पहिलो ओभरमा कश्यप प्रजापतिलाई ८ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराई नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । अर्को एन्डबाट लगातार चार ओभर बलिङ गरेका सोमपाल कामीले अकिब इल्याजलाई २ र शोएव खानलाई शुन्य रनमा बोल्ड गरेपछि नेपालले खेल पूर्ण नियन्त्रणमा लिएको थियो ।

ओपनर प्रतिक अठवालेले २४ रन बनाए । उनले १८ बल खेली २ चौका र १ छक्का प्रहार गरे । कप्तान जेसन मक्सुदले ओमानबाट सर्वाधिक ३२ रन बनाए । उनले २६ बल खेली १ चौका र ३ छक्का प्रहार गरे । सन्दीप लामिछानेले आयान खान र मेहरान खानलाई लगातार बलमा आउट गरे । आयानले २५ बल खेली २ चौकासहित १८ रन बनाए ।

नसिम खुशीले १४ बलमा २५ रन बनाएपछि ओमानको स्कोर हेर्न लायक बनेको थियो । उनले समान २ चौका र छक्का प्रहार गरे । सकिल अहमद १७ बलमा २२ रन बनाई अविजित रहे । उनले २ चौका र १ छक्का प्रहार गरे ।

नेपालबाट करण केसीले ३ विकेट लिए । उनले ४ ओभरमा ४३ रन खर्चे । सोमपालले ४ ओभरमा १६ र सन्दीपले ३० रन खर्चे । अविनाश बोहरा र गुल्शनले १–१ विकेट लिए । अविनाशले ४ ओभरमा १८ र गुल्शनले ३५ रन खर्चे ।