जनता टाइम्स

१७ कार्तिक २०८०, शुक्रबार १८:५२

शनिबारको विरोध सभालाई सम्बोधन गर्न नेपालगञ्ज पुगे कमल थापा


नेपालगञ्ज, १७ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापा नेपालगञ्ज पुग्नुभएको छ । राप्रपा नेपाल बाँकेले शनिबार नेपालगञ्जमा गर्ने विरोध सभालाई सम्बोधन गर्न थापा आज बेलुकी त्यहाँ पुग्नुभएको हो । राजसंस्थाको एजेन्डालाई पार्टीले कार्यनीति बनाएपछि राप्रपा नेपालले सडक केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ ।

संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य सडक आन्दोलनबाट गर्ने उद्घोषका साथ पार्टी जनआन्दोलनको आधारभूमि निर्माण गर्न जिल्ला केन्द्रित कार्यक्रममा लागेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

२०६२/६३ को मार्गचित्र असफल भएकोले अब गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्पमा राजासहितको प्रजातन्त्र, सनातन हिन्दु अधिराज्य र संघीयता खारेज गर्दै सुदृढ स्थानीय शासन प्रणाली लागू हुनुपर्ने राप्रपा नेपालको मान्यता रहेको छ ।

सभालाई अध्यक्ष थापासहित उपाध्यक्ष तारानाथ लुइँटेल, महामन्त्री राजाराम बर्तौला, सह-महामन्त्री रमेश अर्याल, हिक्मत ढकाल, दिपु सिंहलगायतले सम्बोधन गर्ने र विभिन्न व्यक्तिहरू पार्टी प्रवेस गर्नेसमेत पार्टीले जनाएको छ ।