काठमाडौं, कात्तिक १८ । नेपाली कांग्रेसले तिहार अघिका पूर्वनिर्धारित सवै सार्वजनिक कार्यक्रमहरू स्थगित गरेको छ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न तिहार अघिका पूर्वनिर्धारित सार्वजनिक कार्यक्रमहरू स्थगित गरिएको जानकारी दिनुभयो । उहाँले पार्टीको सार्वजनिक कार्यक्रम स्थगित गरिएता पनि महासमिति सदस्य चयन गर्ने आन्तरिक कार्यक्रम भने यथावत रहने बताउनु भएको छ ।
‘पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न आवश्यक रहेकाले केन्द्र, प्रदेश हुँदै पालिका स्तरसम्म पार्टीले आयोजना गर्न लागेका पूर्व निर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरिएको छ । यो निर्णयलाई आ–आफ्नो तहमा कार्यान्वयन गर्नु÷गराउनु हुन नेपाली कांग्रेस निर्देश गर्दछ,’ मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
जाजरकोट र रुकुम (पश्चिम)लगायतका क्षेत्रमा शुक्रबार राति आएको विनाशकारी भूकम्पका कारण ठुलो सङ्ख्यामा भएको मानवीय तथा भौतिक क्षति र सयौँको घाइते भएका छन् । यसैगरी, कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई अभियानमा जुट्न अपिल समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्