जनता टाइम्स

१८ कार्तिक २०८०, शनिबार १९:४६

भूकम्पपीडितका लागि प्रवासी नेपाली मञ्चले गर्यो एनआरएनमार्फत आर्थिक सहयोगको घोषणा


काठमाडौं, कात्तिक १८ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि तत्काल ५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेको छ ।

गएराती ११.४७ बजे जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पका अति प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा उद्धार तथा राहातका उपलब्ध गराउन ओएनएफले गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिलाई तत्काल ५ लाख रुपैया उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष सञ्जय थापाले जानकारी दिनुभयो ।

‘भूकम्प पीडितलाई तत्कालै आवश्यक सामाग्रीका लागि एनआरएनएमार्फत ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छौं,’ अध्यक्ष थापाले जनताटाइम्स डटकमसँग भन्नुभयो, ‘आगामी दिनमा पीडितलाई सहयोग र भौतिक पुर्वाधार निर्माणका बिषयमा प्रवासी नेपाली मञ्च आफैले थप सहयोग जुटाउने छ ।’

अध्यक्ष थापाले भूकम्पमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीर्ष स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । साथै पीडितको राहातका लागि जुटन ओएनएफका सवै राष्ट्रिय कमिटी र सदस्यहरुलाई अपिल गर्नुभएको छ । जाजरकोट भूकम्पमा परी दुई जिल्लाका १ सय ५७ जनाको मृत्यू भएको छ भने १९७ जना घाइते भएका छन ।