जनता टाइम्स

१९ कार्तिक २०८०, आईतवार १५:५४

भूकम्प प्रभावित क्षेत्रमा पुग्यो प्रवासी नेपाली मञ्चको टीम, स्थलगत अध्ययनपछि थप सहयोगको पहल गर्ने घोषणा


काठमाडौं, कात्तिक १९ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीले भूकम्पप्रभावित क्षेत्रमा स्थलगत अध्ययनपछि राहतका थप कार्यक्रम अघि बढाउने बताएको छ ।

मञ्चका अध्यक्ष सञ्जय थापा र सचिव हेम शेर्पाले आज बिज्ञप्ती जारी गरी यस्तो जानकारी दिनुभएको हो । मञ्चले शनिवार नै गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदमार्फत राहतका लागि ५ लाख रुपैया हस्तानतरण गर्ने निर्णय गरेको थियो ।

ओएनएफ युके र इजरायलले पनि थप एक लाख रुपैया गरी ७ लाख रुपैया एनआरएनएलाई उपलब्ध गराएको र मञ्चका सचिवालय सदस्य डा. बिमला भण्डारीको नेतृत्वको टोली भूकम्प प्रभावित क्षेत्रमा गइसकेको छ ।

भण्डारी नेतृत्वको टोलीमा प्रवासी नेपाली मञ्च दक्षिण कोरियाका अध्यक्ष सिर्जना नेपालीसहित नेपालमा उपलब्ध मञ्चका सदस्यहरु रहेको अध्यक्ष थापा र सचिव शेर्पाको बिज्ञप्तिमा जनाइएको छ ।

‘यस दुःखद घडीमा मञ्चले भूकम्प पीडितलाई तत्काल राहत उपलब्ध गराउनका लागि समग्र प्रवासी नेपाली मञ्चका तर्फबाट रू. ५ लाख र प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी ईजरायलको तर्फबाट रू. १ लाख गरी जम्मा ६ लाख रुपैयाँ गैरआवासीय नेपाली संघ मार्फत सहयोग गर्ने निर्णय गरेको छ । स्थलगत अध्ययन पश्चात प्रवासी नेपाली मञ्च आफैंले आवश्यक थप सहयोगका लागि पहल गर्नेछ,’ बिज्ञप्तिमा भनिएको छ ।