जनता टाइम्स

२० कार्तिक २०८०, सोमबार १७:३६

पुुष्प मेलामा एक करोड १७ लाखको कारोबार


काठमाडौँ २०  कात्तिक  । गत मङ्गलबादेखि सुरु भएको पुष्प मेलामा रु एक करोड १७ लाखको कारोबार भएको छ ।  रु एक करोड कारोवार हुने लक्ष्य राखेर सुरु गरिएको उक्त मेलामा लक्ष्यभन्दा रु १७ लाख बढीको कारोबार भएको आयोजक संस्थाले जनाएको छ । फ्लोरिकल्चर एशोसिएशसन नेपाल (फ्यान)  का अध्यक्ष मीनबहादुर तामाङका अनुसार मेलामा ४५ हजार जनाले अवलोकन गरेका थिए ।
सत्तरी वटा बिक्री कक्ष रहेको उक्त मेलामा बिक्री भएका फूलमध्ये ५० प्रतिशत गोदावरी फूल बिक्री भएको थियो । मेलामा व्यावसायिक स्टल ६१, प्रतियोगितात्मक स्टल दुई, फ्लावर सजावट स्टल दुई र सूचनामूलक पाँच गरी ७० वटा स्टल रहेका छन् । पूर्वबडामहारानी कोमल राज्यलक्ष्मी शाहस्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, सांसद् डा तोशिमा कार्की,  ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायतले मेला  अवलोकन गर्नुभएको थियो ।
एशोसिएशनले नेपाली पुष्प व्यवसाहीको उत्पादनलाई प्रोत्साहन एवम् प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथै तिहारलाई लक्ष्य गरेर मेला आयोजना गरेको जनाएको छ । पछिल्लो समय काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ ।
नेपालमा हाल व्यावसायिकरूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा करिब एक हजार दुई सय व्यवसायीले यसको खेती गर्दै आएका बताइएको छ । मेलामा प्रवेश शुल्कबाट उठेको रकम भूकम्पपीडितका लागि आयोजक संस्थाले हिजो एक दिन मेलामा टिकट बिक्रीबाट उठेको रकमको ५० प्रतिशत रकम गत शुक्रबार राति जाजगरकोट र रुकुमपश्चिममा गएको भूकम्प पीडितका लागि सहयोग गर्ने जनाएको छ ।
सुरुमा पाँच दिनका लागि भनेर सुरु गरिएको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको मेला अवधि एक दिन थप गर्दै आजसम्म सञ्चालन गरिएको र उक्त रकम भूकम्पीडितलाई सहयोग गर्ने बताइएको छ । एशोसिएशनले भनेको छ,’आइतबारको मेलाको टीकटबाट हुने आम्दानीको ५० प्रतिशत रकम जाजरकोट तथा पश्चिम रुकुम क्षेत्रका भूकम्पपीडितको  सहयोगका लागि नेपाल सरकारको कोषमा जम्मा गरिने छ ।’
रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने  नाराका साथ गत मङ्गलवारदेखि सुरु भएको १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आइतबार नै सकिएको थियो  ।