महोत्तरी, ३० कात्तिक । पुस्तौनी फूल खेती गर्दै आएका महोत्तरी बल्वा नगरपालिका–२ का राम बिनय भण्डारीले यसपालीको तिहारमा भनेजस्तो व्यापार गर्न सक्नुभएन । भारतवाट आयात भएका फूलकै कारण मुल्यमा आकास पताल फरक पर्ने हुदाँ बेच्न नसक्ने एउटा कारण रह्यो भने माली समुदायबाहेक अन्य समुदायले पनि व्यावसायिक फूल खेती गर्दा समस्या बनेको भण्डारीको भनाई छ ।
उहाँलाई यो तिहारमा व्यापारले भन्दा पनि पेशा नै धरासयी बन्दै गएको प्रती निक्कै चिन्ता बढाएको छ । ‘पुर्ख्यौली फूल खेती नै गर्ने हाम्रो पेशा हो तर माली समुदायबाहेक अन्य समुदायहरुले पनि ब्यावसायिक खेती गर्दा हामी समस्यामा पर्दै गएका छौ,’ भण्डारीले भन्नुभयो,‘अब त पेशा नै परिवर्तन गर्नुपर्ने अवस्था देखा परेको छ ।’
उहाँले तिहार तथा छठलाई मध्यनजर गरि झण्डै १ बिगा क्षेत्रफलमा फूल रोपेका थिए । तर १ कठ्ठाको पनि बिक्री नभएको उहाँको गुनासो छ । भारतीय फूल सिमा, नाकावाट नभित्र्याउने सरकारले निर्णय गरे तापनी अबैधानिक बाटोवाट भित्रिदा मधेशमा माली लगायत किसानहरुलाई ब्यापारमा समस्या भएको भण्डारीको बुझाई छ । भण्डारी जस्तै जनकपुर–६ का जितेन्द्र भण्डारीको पनि उहीँ चिन्ता छ ।
व्यवसायिक रुपमा ६ महिना अगाडी चिस्यानमा स्टोर गर्ने र निक्कै कम मुल्यमा बेच्नेहरुको कारण आफुहरु संकटमा परेको उहाँले बताउनुभयो । पुर्ख्यौली पेशाको रुपमा अवलम्बन गरिएको कयौ माली समुदाय यो पेशावाट बिस्थापन भएको र पहिचानको लागि भएपनी कमले मात्र फूल खेती गरिरहेको भण्डारीले बताउनुभयो ।
नजिकै जानकी मन्दिर भए तापनी पहिलेजस्तो नभएको उहाँले जनाउनुभयो । पुजा कर्मका लागी दैनिक हजारौ मालाहरु बेच्ने गरेको अनुभव सुनाउदै भण्डारीले फूलको रेटमा मनलाग्दी गरिन थालिएको उहाँको भनाइ छ । ‘सरकारले तरकारीमा जस्तै फूलमा पनि मूल्य निर्धारण गरिदिनु पर्छ,’ भण्डारीले भन्नुभयो,‘अनि मात्र हामी जस्तो फूल व्यावसायीहरु मारमा पर्दैनौ ।’
तर फूलको माग र बजार करिब १२ देखि १५ प्रतिशतका दरले बढ्दै गएकाले फूल व्यवसायको सम्भावना बढ्दै गएको फ्लोरिकल्चर एसोसिएसन नेपालको तथ्यांक छ । कृषि विकास मन्त्रालयअन्तर्गत पुष्प व्यवसाय प्रवर्द्धन नीति २०६९ जारी गरिदा यसलाइ उल्लेख गरिएको थियो । पुष्प व्यवसाय अनुदान कार्यविधि नआउँदा हरेक वर्ष बजेट फ्रिज भएर जाने गरेको छ ।
पुस्तौनी फूल व्यवसाय गर्दै आएका समुदाय मात्र हैन, फूल खेतीको अधिक सम्भावनालाई सरकारले वेवास्ता गर्दा भारतिय पुष्प व्यवसायीहरुका लागी नेपाल आकर्षक बजार बनेको छ । भारतवाट आयात भएका फूल कै कारण बर्दिवासमा आएर फूल वेच्ने कयौ ब्यापारीले बिक्री नभएपछि हजारौ मालाहरु डस्टविनमा फ्याकेका थिए । तर, बजार आंकलन गरेर फूल वेच्न ल्याउनु पर्ने ठाउँमा अन्धाधुन्ध ल्याएको हुनाले नोक्सान बेहोर्नु परेको कतिपयको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्