जनता टाइम्स

२ मंसिर २०८०, शनिबार ०८:४२

एमाले जनसंगठनको दोस्रो राष्ट्रिय भेला आज, अध्यक्ष ओलीको संबोधनदेखि यस्तो छ बिशेष एजेण्डा


काठमाडौं, मंसिर २ । नेकपा एमालेका सवै जनसंगठननका केन्द्रीय पदाधिकारी र आयोगका अध्यक्षहरुको दोस्रो राष्ट्रिय भेला हुनेभएको छ ।

नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको आयोजनामा आज एमाले केन्द्रीय कार्यालयमा सवै जनसंगठनका पदाधिकारी र आयोग अध्यक्षहरुको दोस्रो राष्ट्रिय भेला बोलाइएको हो ।

यही मङ्सिर ७ गते गर्ने विरोध प्रदर्शन र मध्य पहाडी यात्राको तयारीका लागि आज जनसंगठन समन्वय संयन्त्रको भेला बोलाइएको हो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे आह्वान गरिएको बैठकमा पार्टीका सबै २३ वटै जनसङ्गठनका पदाधिकारी र काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई सहभागी हुन आह्वान गरिएको छ ।

मङ्सिर ७ गते युवा र विद्यार्थीहरूले विभिन्न पाँच वटा माग राखेर मङ्सिर ७ गते माइती घर मण्डलामा विरोध प्रदर्शन गर्दै छन् । भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष निर्देशन दिने कार्यक्रम रहेको छ ।

मङ्सिर ७ गते काठमाडौँमा युवा संघ नेपाल र अनेरास्ववियुले भ्रष्टाचार र अनियमितताका विरुद्ध,सामाजिक सद्भाव भड्काउने र धार्मिक सहिष्णुता भत्काउने विरुद्ध,राज्यको अकर्मण्यता विरुद्ध,राज्य आतंक् विरुद्ध र सामाजिक अराजकता विरुद्ध आन्दोलन गर्न लागेको छ ।

आजको बैठकमा पार्टीले मङ्सिर १४ गते देखि गर्न लागेको मध्य पहाडी राजमार्गको यात्राको तयारीका सन्दर्भमा विभिन्न जनसङ्गठनहरूको भूमिकाको विषयमा पनि छलफल गरी ठोश निर्णय लिनेछ ।