जनता टाइम्स

३ मंसिर २०८०, आईतवार ०७:५६

विश्वकप क्रिकेटको उपाधिका लागि आज भिडदै भारत र अष्ट्रेलिया : को बन्ला बिजेता ?


काठमाडौं, मंसिर ३ । एकदिवसीय विश्व कप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै छन् ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा दिउँसो सवा २ बजे खेल हुनेछ । अष्ट्रेलियाले अहिलेसम्म पाँच पटक विश्वकप जितेको छ भने चार पटक फाइनल पुगेको भारतले दुई पटक मात्रै बिश्वकप जितेको छ । अष्ट्रेलिया ८ पटक फाइनल पुगिसकेको छ ।

यसअघि २० वर्षअघि २००३ मा यी दुई टीम फाइनलमा आमनेसामने भएका थिए । त्यो खेल अष्ट्रेलियाले जितेको थियो । जारी विश्वकपमा भारत अहिलेसम्म अपराजित छ । समूह चरणको खेलमा अष्ट्रेलिया भारत र दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।

सेमिफाइनलमा भारतले न्युजिल्यान्ड र अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनल यात्रा तय गरेका हुन । आजको खेलमा भारतले अष्ट्रेलियालाई हराएर इतिहास रच्ने कि अष्ट्रेलियाले पुरानै नतिजा कायम गर्ने भन्ने तय हुनेछ ।