जनता टाइम्स

४ मंसिर २०८०, सोमबार १५:०२

राजसंस्था फर्काउने कुरा प्रतिगमन होइन, उत्कृष्ट अग्रगमनकारी बाटो हो : मोहन श्रेष्ठ


काठमाडौं, ४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि निर्वाचन भएको आज एक वर्ष पूरा भएको छ । संविधानसभाबाट संविधान जारी भएपछि यो दोस्रोपटक प्रतिनिधिसभा र प्रदेशसभाका लागि सदस्य चयन गरिएको हो । यसबीचमा देखिएका राजनीतिक गतिविधिलाई समीक्षा गर्दै राप्रपाले देश ‘कोर्स करेक्सन’को सम्मुखमा रहेको भन्दै राजसंस्था फर्काउने कुरा प्रतिगमन नभएर उत्कृष्ट अग्रगमनकारी बाटो भएको दाबी गरेको छ ।

राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले निर्वाचनको एक वर्षमा सरकार सञ्चालनका क्रममा संघ र प्रदेशमा देखिएका रमिता, कुकृत्य गणतन्त्रका गहनाका रुपमा स्थापित भएको बताए । उनले देश कोर्स करेक्सनको सम्मुख रहेको भन्दै राजसंस्था फर्काउने कुरा प्रतिगमन नभएर उत्कृष्ट अग्रगमनकारी बाटो भएको बताउनुभएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नुभएको छ,

आज संसदीय निर्वाचन भएको एक वर्ष पूरा भएको छ। राजनीतिक दलहरुले चुनावी दौरानमा जनताको माझमा जॅादा गरेका बाचा र प्रतिबद्धताहरुको सम्झना र समिक्षा गरुन् । हामी पनि समिक्षा गर्छौं । निर्वाचनपछि बनेको सरकारमा सहभागी भएर राप्रपाले एउटा प्रयोग गर्यो ४० दिन नपुग्दै नाटकीय रुपमा सत्तामा संकट देखिएपछि सबैभन्दा पहिले सरकारबाट बाहिरियौं । जति दिन सरकारमा रह्यौं राम्रो गर्ने प्रयास गर्यौं नराम्रो गरेनौं ।

त्यसपछि सरकार सञ्चालनका क्रममा संघ र प्रदेशमा यो एक वर्षमा देखिएका रमिता, कुकृत्य गणतन्त्रका गहनाका रुपमा स्थापित भए । तथाकथित परिवर्तन राम्रो हो, उत्कृष्ट छ भनेर छाती खोली नागरिकका सामु भन्ने आंट यतिबेला कसैको छैन । बन्द कोठाभित्र लाभ लिएका केही तरमाराहरुले गणतन्त्र ठिक छ भन्नु आफैंमा लज्जाको विषय बनिरहेको छ ।

दिनहॅु हजारौं नौजवान युवाहरु लावालस्कर देश छाडेर परदेश लागिरहेका छन्, अर्थतन्त्र शिथिल र दबाबमा छ, भूराजनीतिक सन्तुलनमा गडबडी देखिदैछ। केही मुठ्ठीभर बाहेक आम जनता निराश छन्, जनजीवन त्रस्त छ। यो अवस्था कहिलेसम्म लम्ब्याउने ? अब पनि नागरिक नजागे, नउठे कहिले उठ्ने ? देशले अवलम्बन गरेको मार्गचित्र गलत र त्रुटिपूर्ण छ भनेर हामीले आज मात्र होइन, हिजोका कठिन र जटिल दिनमा समेत भन्यौं, निरन्तर भन्दै आइरहेका पनि छौं ।

आफ्नो एजेण्डामा सतिसाल झैं उभिएको राप्रपाको एजेण्डा क्रमशः सहि साबित हॅुदै गएको छ। हिजो कुनै बेला हाम्रा एजेण्डा लुकेर सुनाउनुपर्ने, कथित अग्रगमनकारीको निशानामा पर्नुपर्ने अवस्थाबाट आज खॅाटी गणतन्त्रवादी कहलिएका, गणतन्त्रबाट लाभ लिएकाहरुले समेत सगर्व बोकेर हिडिरहेको देख्दा सन्तोष र गर्वको अनुभूति हुन्छ ।

नेपाल यतिबेला ‘कोर्स करेक्सन’को सम्मुखमा छ । यथास्थितिबाट देश अघि बढ्न सक्दैन भन्ने कुरा हामीले भनिरहन पर्दैन, यो अवस्था र व्यवस्थाका संवाहक शक्तिहरुले समेत भनिरहेको र स्विकारेको कुरा हो । यथास्थितिमा सुधार ल्याउने विकल्प छ र विकल्प राप्रपाले मात्रै दिएको छ । राप्रपाले अघि सारेको विकल्पमा छलफल गर्न कसैले हिनताबोध गर्नु पर्दैन ।

गल्ती चेतनशील प्राणीबाट नै हुने हो, गल्ती सच्याएर नेपालको माटो र परिवेश सुहॅाउदो नवीन व्यवस्थाका लागि हातेमालो गर्न राजनीतिक दलहरु, विभिन्न विचार समुह, स्वतन्त्र नागरिक सबैको ध्यानाकर्षण गराउॅदछु ।

राजसंस्था फर्काउने कुरा प्रतिगमन होइन, कतिपयले प्रतिगमनको भाष्य निर्माण गरिरहेका छन्, त्यो गलत छ । नेपालको लागि राजसंस्था अहिले भन्दा अघि बढ्ने अग्रगमनकारी उत्कृष्ट बाटो हो । नागरिकलाई अधिकारसम्पन्न बनाउने विभिन्न पाटोहरुमा छलफल हुन नसक्ने भन्ने छैन । आउनुहोस्, नवीन र सार्थक बहस प्रारम्भ गरौं । सबैभन्दा माथि देश, देशभन्दा माथि कोही छैन ।