जनता टाइम्स

९ मंसिर २०८०, शनिबार १४:२५

सुनसरीमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु


इटहरी, ९ मंशिर । सुनसरीमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु भएको छ । आज बिहान प्रभातफेरी, रयाली, कोणसभा र अन्तरक्रियासहितको कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु गरिएको हो । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान मूल आयोजक समिति, लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल समितिको आयोजनामा सो अभियान सुरु भएको हो ।

सो अभियानलाई दर्जनौं संघसस्थाले साथ दिएका छन् । प्रभातफेरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलगायतको उपस्थीति रहेको थियो । सो अभियानको उदघाटन कार्यक्रममा प्रजिअ पाण्डेले महिला हिंसाविरुद्धको अभियान जनस्तरमा जागरुकता फैलाउने र महिला हिंसा न्यूनीकरण गर्ने कार्यमा सबै सरकारी तथा गैरसरकारी संस्थाहरूसँग समन्वय आवश्यक रहेको बताउनुभएको छ ।

महिला हिंसा, यौन हिंसा, बलात्कार तथा घरेलु हिंसालगायतका घटना सहेर नबस्न समेत उहाँको आग्रह छ । प्रदेश सरकार र प्रहरीको कार्यतालिका अनुसार अभियानको १६ दिन नै विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने जानकारी दिईएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सुरुवात महिलाविरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोवल लिडरसीपको सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समूहले गरेको थियो । त्यसपछि हरेक २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउँदै आईएको छ ।