जनता टाइम्स

३० भाद्र २०७६, सोमबार १८:५७

भूमि व्यवस्थामन्त्री अर्यालको घोषणा : ढुक्क हुनोस, भूमिहिन–सुकुम्बासीका समस्या समाधान हुन्छ


काठमाडौं, ३० भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुनलाई भूमाफियाको इसारामा अनावश्यक हल्ला गरिएको ठाुकवा गर्नुभएको छ । सामुदायिक आत्मनिर्भर केन्द्रको बाह्रौं वार्षिक सामाजिक लेखाजोखा कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले सो भनाई राख्नुभएको हो ।

सरकारले लामो समयपछि भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुन ल्याएको भन्दै तर ती कानुनभित्र रहेका राम्रा पक्षको चर्चै नगरेर एउटा विषयलाई मात्र बढी चर्चा गरिएको बताउनुभयो । ‘हामीले लामो समयपछि भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुन ल्याएका छांै,’ मन्त्री अर्यालले भन्नुभयो, ‘यसका राम्रा विषय चर्चा नै नगर्ने । तर एउटा विषयलाई अनावश्यक हल्ला गरेर भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबासीका कुरा ओझेलमा पार्ने षड्यन्त्र त भएको छैन ? भन्ने शंका उब्जिएको छ ।’

बर्तमान सरकारले बोकेको झण्डा समानताको झण्डा भएको भन्दै उहाँले भूमिहीनका समस्या समाधान गर्दैन कि भनेर शंका नगर्न समेत आग्रह गर्नुभयो । ‘हामीले बोकेको झण्डा समानताको हो । लामो समय यही एजेन्डा बोकेको व्यक्तिले कार्यान्वयन गर्दैन कि भन्ने आशंका नगरे हुन्छ,’ उहाँले भन्नुभयो । हिजोका दिनमा विभिन्न कारणले सुकुम्बासी, भूमिहीन, अव्यवस्थित बसोबासीका समस्या समाधान हुन नसकेको भन्दै तर अहिलेको सरकार ती समस्या समाधान गर्न लागेको बताउनुभयो । पहिलो नम्बरमा समस्याको समाधान गर्न कानुन चाहियो भनेर आफु लागेको उहाँको भनाइ थियो ।

ऐनमा रहेका कुरा नियमावलीमार्फत एक्सन प्लान बनाएर कार्यान्वयमा जाने बताउदै मन्त्री अर्याललेसबै सरोकारवालासँग अन्तरक्रिया गरेर कार्यान्वयमा जाने बताउनु भयो । ‘कानुन भयो भने म नहुँदा पनि अर्कोले गर्नुपर्ने बाध्यकारी कानुन बनाएका छौं । अन्तिम चरणमा पुगेको छ । तपाईंको बारेमा धेरै बोलियो । अब एक्सनमा जाने बेला हो,’ मन्त्री अर्यालले भन्नुभयो, ‘भूमिमा सबैको चासो छ । यो भूमि स्रोतसाधन पनि हो पूँजी पनि हो । हाम्रो पुँजीको महत्वपूर्ण स्रोत भूमि हो । त्यसकारण यसको व्यवस्थापन चुनौतीपूर्ण पनि छ ।’

सरकारले भूउपयोग ऐन बनाउने महत्वपूर्ण काम सम्पन्न गरेको भन्दै उहाँले भूमि ऐनमा गरिएका व्यवस्थाका राम्रा कुराको चर्चा गर्न समेत भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई आग्रह गर्नुभयो । मन्त्री अर्यालले अब मोही नै नरहनेगरी समस्याको समाधान गर्न खोजेको बताउनुभयो । हिजोको कानुनले मोहिका सन्दर्भमा हिजोको कानुनले गरेको व्यवस्थाले मोहीलाई कठिन बनाएको भन्दै उहाँले अब यो मुलुकमा कोहीपनि मोही नरहने सबै जग्गावाल बनाउने गरी विधेयकमा व्यवस्था गरिएको बताउनुभयो ।

संविधानले नै मुलुकको ३ खम्बे अर्थनीतिमा सरकार, सहकारी र नीजि क्षेत्रलाई लिएकोभन्दै उनले नीजि क्षेत्रलाई साझेदार बनाएर जाँदा देशमा ठूला उद्योग, कलकारखाना खोल्नका निम्ती बाटो खुला गर्नका निम्ती विधेयकमा व्यवस्था गरिएको बताउनुभयो । तर त्यही कुरालाई गलत रुपमा व्याख्या गरेर समग्र ऐनलाई नै गलत देखाउन कतिपय पक्ष लागेको भन्दै मन्त्री अर्यालले चिन्ता व्यक्त गर्नुभयो ।

‘नीजि क्षेत्रलाई सँगसँगै लाने भन्ने सन्दर्भमा ठूला फार्म, उद्योग खोल्नका निम्ति बाधा नहुने व्यवस्था विधेयकमा गरेका छौ । त्यहाँ नीजि स्वार्थ पूरा पाइदैन । तर विधेयकलाई गलत रुपमा ब्याख्या गरियो’, मन्त्री अर्यालले भन्नुभयो, ‘यसले कतै भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुन फेल गराउने षड्यन्त्र त होइन भन्ने शंका उब्जिएको छ ।’ यो सरकारको बाटो समाजवादकै बाटो भएको भन्दै उहाँले मान्छेहरुबीचको विभेदको अन्त्य गरिदिने गरी सबैलाई भूमिको मालिक बनाउनेगरी सरकार अगाडी बढेको बताउनुभयो ।