सूर्खेत, मंसिर १८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले जनतालाई भ्रममा पार्न अनेक प्रयत्न भइरहेका बताउनुभएको छ ।
एमालेले सञ्चालन गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानअन्तर्गत कर्णालीको सुर्खेतमा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतालाई भ्रममा पार्न र लरबर्याउन अनेक खालका उत्ताउला कुरा भइरहेका बताउनुभयो । यस अवस्थालाई चिर्नु पर्नेमा ओलीले जोड दिनुभयो ।
नेकपा एमालेले साढे तीन वर्ष सरकार चलाउँदा जनतामा आत्मविश्वास बढाउने काम गरेको ओलीले बताउनुभयो । ‘सरकार प्रति भरोसा बढाएको थियो, विकासको लहर चलाएको थियो, देशमा सुशासन कायम गरेको थियो, समृद्धिको यात्रा अगाडि बढाएको थियो’, ओलीले भन्नुभयो ।
अहिले गठबन्धन सरकार भ्रष्टाचारमा लिप्त भएको ओलीले बताउनुभयो । अहिले क्विन्टलका क्विन्टल सुन एयरपोर्टको भन्सारबाट छिरेर आउने गरेको उहाँले सुनाउनुभयो । ‘यस्तो अवस्था इतिहासमै कहिल्यै थिएन, अहिले गठबन्धन सरकारबाट यस्तो अवस्था भएको छ’, ओलीले भन्नुभयो ।
देशमा सामाजिक अराजकता बढेको र सांस्कृतिक अधोपतन भइरहेको ओलीले बताउनुभयो । तथापि गठबन्धनमा रहेको पार्टीहरू यस प्रति गम्भीर नभएका भन्दै उहाँले आलोचना गर्नुभयो । यो अवस्था एमालेको लागि मात्र होइन सबैलाई चिन्ताको विषय हुनुपर्नेमा ओलीले जोड दिनुभयो ।
आर्थिक वर्षको पहिलो चार महिनामा नै सरकारले कर्मचारीलाई तलब खुवाउन जनतासँग ऋण लिनुपरेको ओलीले बताउनुभयो । ‘नेपालको इतिहासमै यस्तो दुरावस्था कहिल्यै पनि भएको थिएन, देशको बचत ध्वस्त भएको, जनतामा गरिबी बढेको छ, जनतामा नैराश्यता छाएको छ, असन्तुष्टि बढेको छ, युवाहरू निराश र पलायन भइरहेका छन्, यस्तो अवस्थालाई रोक्नु पर्छ’, उहाँले भन्नुभयो ।
ओलीले देशको राजनीति बिग्रिँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । देशको राजनीति अन्योल र अराजकताबाट गुज्रिरहेको उहाँले बताउनुभयो । ‘कानुको राज होइन, भ्रष्टहरूको राज र मनपरीतन्त्र चलिरहेको छ’, उहाँले भन्नुभयो ।
सरकारले राष्ट्र हित, स्वाभिमान र स्वाधीनताको रक्षा गर्न नसकेको ओलीले बताउनुभयो । राष्ट्र हितमा सरकार अड्न नसकेको भन्दै उहाँले आलोचना गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्