जनता टाइम्स

३१ भाद्र २०७६, मंगलवार १२:४७

एकतालाई पुर्णता दिने अन्तिम गृहकार्यमा ओली–प्रचण्ड


काठमाडौं, भदौ ३१ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्ड एकताको बाँकी काम टुंगो लगाउने अन्तिम गृहकार्यमा जुटनुभएको छ । लामो समयसम्म एकताले पुर्णता नपाउँदा नेता–कार्यकर्तामा निरासा बढनुका साथै अराजक तत्वको अफवाह खेती मौलाएको निश्कर्षसहित प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्ड केही दिनदेखि एकतालाई टुंग्याउने गृहकार्यमा लाग्नुभएको हो ।

एकतालाई पुर्णता दिन आवश्यक गृहकार्यका लागि हिजो दुवै अध्यक्ष महासचिव बिष्णु पौडेल र सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापालाई समेत सहभागी गराएर लामो गृहकार्य गर्नुभएको थियो । हिजोको गृहकार्यलाई टुंगोमा पुर्याउन आज पनि चार नेताबीच छलफल भइरहेको हो । आजको बैठकले एकताको सवै कामलाई पुर्णता दिने योजना रहेको एक नेताले जनताटाइम्सलाई जानकारी दिनुभयो ।

एकतालाई पुर्णता दिने गृहकार्य सकिएलगत्तै सचिवालय बैठक बसेर निर्णय हुनेछ । नेकपामा अझै केन्द्रीय आयोग, जेष्ठ कम्युनिस्ट मञ्च, प्रवाश कमिटीको नेतृत्व चयन बाँकी छ भने केन्द्रीय बिभागहरुले पनि पुर्णता पाएका छैनन । आजको चार नेताको छलफलबाट पार्टी एकीकरणका बाँकी प्रक्रिया टुंग्याउने विषयमा छलफल भइरहेको हो ।

त्यसो त अध्यक्ष प्रचण्डले हिजो पार्टी कार्यालयमा आयोजित कार्यक्रममै एकता टुंग्याउने अन्तिम गृहकार्य निश्कर्षमा पुग्न लागेको जानकारी दिनुभएको थियो । पार्टी कार्यालय धुम्बाराहीबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेताहरुले लामो छलफल गर्नुभएको थियो । आज सो छलफललाई निश्कर्षमा पुर्याएरसचिवालय बैठक बोलाउने अध्यक्षद्वयको योजना छ ।

गत बर्षको जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपाले तीन महिनाभित्र सवै तहको एकता टुंग्याउने घोषणा गरेको थियो । तर १६ महिना पुग्न लाग्दा पनि एकताले पुर्णता पाउन सकेको छैन । नेकपा स्रोतका अनुसार चार नेताबीचको छलफलमा बाँकी रहेका सवै कामको सूची तयार पारी सहमति जुटाइएको छ । आजको बैठकले तीसूचीलाई अन्तिम रुप दिएर सचिवालय बैठकबाट अनुमोदन गराइनेछ ।