जनता टाइम्स

१ आश्विन २०७६, बुधबार १३:३३

भ्रष्टाचारीहरुको भिडियो क्लिप सरकारसँग आइसकेको प्रधानमन्त्री ओलीको खुलासा


काठमाडौं, असोज १ । प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारीलाई सरकारले माफी नदिने घोषणा गर्नुभएको छ । सिंहदरवारस्थित संघीय संसद भवनको आज शिलान्यासपछि बोल्दै प्रधानमन्त्री ओलीले सो घोषणा गर्नुभएको हो ।

‘भ्रष्टाचारीहरुलाई सरकारले कुनै हालतमा माफि दिँदैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नयाँ संसद भवनबनेसँगै भ्रष्टाचार यसरी निर्मुल पार्छौ कि नयाँ संसदमा भ्रष्टारचारबारे छलफल नै नहुने अवस्था आओस ।’ प्रधानमन्त्री ओलीले भ्रष्टाचारीहरुको रेकर्ड राख्न सुरु भइसकेको खुलासा पनि गर्नुभयो । ‘अब भ्रष्टचारीहरु पनि आनन्दले नबसे हुन्छ । सबैको रेकर्ड राखिएको छ । भिडियो क्लिप सरकारसँग आइसकेको छ । जो भ्रष्टाचारी छन, उनीहरु शान्तिसँग बस्न पाउँदैनन,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको २ वर्ष हुन लागेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सरकारका काम कारवाहीले गति लिएन भन्ने आलोचना आफूले सुनेको र त्यसलाई गम्भीरतापूर्वक लिएको प्रष्ट पार्नुभयो । उहाँले लोकतन्त्रविरुद्ध विभिन्न खाले गतिविधि र षड्यन्त्र भइरहेको भन्दै त्यस्ता गतिविधिहरुलाई सरकारले त्यसै नछाड्ने चेतावनी पनि दिनुभयो । प्रधानमन्त्री ओलीले उग्र दक्षिणपन्थी पूर्वराजावादीको अराजक हर्कत र उग्र क्रान्तिकारीकारी (बिप्लव समुहको आतंक) को नाममा गतिविधि गर्नेहरुप्रति लक्षित गर्दै यस्तो चेतावनी दिनुभएको हो ।

‘सरकारले त्यस्ता गतिविधिलाई नियालिराखेको छ । जबसम्म डम्मरुमाथि आक्रमण हुँदैन, तवसम्म बघिनी चुप लागेर बस्छे, आक्रमण भएको थाहा पाएपछि बघिनी जाइलाग्छे,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘लोकतन्त्रमाथि खतरा उत्पन्न भए सरकारले छाड्दैन, चुप लागेर बस्दैन ।’ प्रधानमन्त्रीले मुलुकमा हिंसा आवश्यक नभएको धारणा पुनः दोहोर्याउनु भयो । ‘लोकतान्त्रिक प्रणालीबाट बनेको सरकार छ । अब केका लागि हिंसा ? केका लागि बम पड्काउने ?’ प्रधानमन्त्री ओलीको प्रश्न थियो ।

विप्लव समुहलाई प्रतिबन्ध लगाएपछि कतिपयले कोकोहोलो मच्चाएको भन्दै प्रधानमन्त्री ओलीले सचेत गराउनु भयो । ‘कतिले सरकारले प्रतिबन्ध लगायो भनेर कोकोहोलो मच्चाए । शान्ति सुरक्षामा धावा बोल्नेलाई प्रतिबन्ध नलगाएर के गर्ने त ?,’ उहाँको प्रश्न थियो थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले निर्धारित समयभित्र संघीय संसदको भवन निर्माण सम्पन्न गर्न निर्देशन पनि दिनुभयो । उहाँले वर्तमान सांसदहरुले नै नयाँ संसद भवनमा बस्न पाउने गरी निर्माण सम्पन्न हुनेमा आफू विश्वस्थ रहेको धारणा पनि राख्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकमा धेरै परिवर्तन भइसकेपनि नयाँ संसद भवन निर्माण नगर्दा भाडामा बस्नुपरेको भन्दै अब त्यो अवस्थाको अन्त्य हुने बताउनु भयो । सात अर्ब ७३ करोडमा सिंहदरवारस्थित पुतली बगैँचामा निर्माण हुन लागेको संघीय संसद भवन तीन वर्ष बषर््भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सो भवनको आजै प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको हो ।