जनता टाइम्स

१ आश्विन २०७६, बुधबार १५:०५

नेपाल एअरलाइन्सलाई नाफामा पुर्याउन कार्यदलले दियो यस्तो सुझाव, पहिचान भयो समस्याको जड


काठमाडौं, असोज १ । नेपाल वायुसेवा निगम सुधारका लागि गठित कार्यदलले रणनीतिक साझेदार भित्र्याउन सुझाव दिएको छ । पूर्वपर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यदलले निगममा तत्काल रणनीतिक साझेदार ल्याउन सरकारलाई सुझाव दिएको हो ।

कार्यदलले आज संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई बुझाएको प्रतिवेदनमा रणनीतिक साझेदारी भित्र्याएर निगमलाई पब्लिक कम्पनी बनाउन सुझाव दिएको हो । समितिले निगमको व्यवस्थापनबारे यसअघि तयार पारिएका ६ वटा प्रतिवेदनको समेत अध्ययन गरी नयाँ प्रतिवेदन दिएको हो ।

प्रतिवेदनले निगमलाई पब्लिक कम्पनीमा लैजान र सर्वसाधारणदेखि विभिन्न संस्था÷निकायलाई पनि शेयर जारी गर्न सुझाव दिएको छ । रणनीतिक साझेदारीमा नजानु तथा राजनीतिक नियुक्ति निगमको समस्याको मूल जड भएको प्रतिवेदनले औँल्याएको छ । राजनीतिक नियुक्ति नै निगमको समस्याको मुल जड रहेको तथ्य अध्ययनबाट देखिएको छ,’ प्रतिवेदन बुझाउँदै समिति संयोजक घिमिरेले भन्नुभयो ।

घिमिरेका अनुसार प्रतिवेदनमा निगमलाई सुधार गर्न निगमको लेखा प्रणाली सुधार, वित्तीय पुर्नसंरचना सुधार, रणनीतिक साझेदार तुरुन्तै ल्याउनुपर्ने, गन्तव्य विस्तार गर्न ए ३२० नामका न्यारोबडि किन्ने सहितका १३ वटा तत्कालीन सुझाव दिइएको छ । अब नयाँ जहाज किन्दा सिधै उत्पादकसँग मात्र किन्न, खरिद कर्यालयको प्रतिनिधि राख्नेसहितका सुझाव पनि प्रतिवेदनमा दिइएको छ । निगमले प्रविधि प्रयोग, मोबाइल एप, अनलाइनबाट टिकट काट्ने प्रणाली चलाउन पनि सुझाव दिएको छ ।

पब्लिक कम्पनी बनाउनेसहितका दीर्घकालीन सुझाव पनि प्रतिवेदनले दिएको छ । प्रतिवेदन बुझ्दै मन्त्री भट्टराईले तोकिएको समयमै प्रतिवेदन तयार पारेकोमा समितिलाई धन्यवाद दिनुभयो । गत साउन २२ गते मन्त्रीस्तरीय निर्णयबाट गठित समितिले काम सुरु गरेको एक महिनामा प्रतिवेदन बुझाएको हो । सो अवसरमा मन्त्री भट्टराईले प्रतिस्पर्धी बजारमा निगमलाई नाफामा लान प्रतिवेदनले सुझाएका उपायले सहयोग गर्ने बताउनु भयो ।

‘सार्वजनिक कम्पनी मोडलमा लान दिएको सुझाव हामी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर कार्यान्वयन गर्नेछौं,’ मन्त्री भट्टराईले भन्नुभयो, ‘नेपाल सरकार यो प्रतिवेदन कार्यान्वयन गर्न प्रतिबद्ध छ । अब आम नेपाली र बुद्धिजीवीको पनि सुझाव आयोस्। हामी त्यसलाई पनि लिएर जान्छौं ।’ उहाँले कार्यतालिका बनाएर प्रतिवेदन कार्यान्वयन गर्ने जानकारी पनि दिनुभयो ।