जनता टाइम्स

७ पुष २०८०, शनिबार १९:००

घरको छत भत्किँदा उत्तरी लेबनानमा ४ सिरियाली बालबालिकाको मृत्यु


बेरुत, ७ पुस । उत्तरी लेबनानी शहर मिजियारामा भारी वर्षाका कारण घरको छत भत्किँदा शुक्रबार राति चार सिरियाली शरणार्थी बालबालिकाको मृत्यु भएको राष्ट्रिय समाचार एजेन्सीले शनिबार जनाएको छ ।

सिरियाली शरणार्थी परिवार बसेको घरको भग्नावशेषबाट सिरियाली सुरक्षाकर्मीले दुई बालबालिकाको शव फेला पारेका छन् भने अन्य दुई शवको उत्खनन भइरहेको बताइएको छ । लेबनानमा हाल करिब २० लाख सिरियाली शरणार्थीहरू छन् ।

लेबनानमा जारी आर्थिक संकटका बीच डरलाग्दो परिस्थितिमा बाँचिरहेको भए तापनि, सिरियाली शरणार्थीहरू कानुनी कारबाहीबाट बच्न स्वदेश फर्कन अस्वीकार गरिरहेका छन् । लेबनानले अभूतपूर्व आर्थिक संकटको सामना गरिरहेको छ । यहाँको ८० प्रतिशत भन्दा बढी जनसङ्ख्या गरिबीको रेखामुनि छ ।