जनता टाइम्स

८ पुष २०८०, आईतवार १७:३२

दुर्लभ दोहोरो पाठेघर भएकी महिला बनिन् आमा, दुई दिनमा जन्माइन दुई बच्चा


वासिङ्टन , ८ पुस । अमेरिकाको अलाबामाकी दुई पाठेघर भएकी एक महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छन् । ३२ वर्षीया केल्सी ह्याचरले एक दिन ( २० घण्टा) को अन्तरमा दुई स्वस्थ छोरीलाई जन्म दिइन्। केल्सी ह्याचरले दुई स्वस्थ सन्तान जन्माएको जानकारी दिँदै बर्मिङ्घम (युएबी) अस्पतालले लाखौंमा एउटी महिलामा दुईवटा पाठेघर हुने यस्तो घटना हुने गरेको बताए । महिलाको दुवै पाठेघरमा बच्चा हुर्किरहेको थियो । उनले दुवैलाई जन्म दिएकी छिन् ।

केल्सी ह्याचरले इन्स्टामा उनको एउटा पोष्टमा उनका जुम्ल्याहालाई चमत्कारी बच्चा भनेकी छिन्। केल्सीले जुम्ल्याहा छोरीहरूले छुट्टै जन्मदिन मनाउने बताइन् । उनले मंगलबार रोक्सी लैलालाई जन्म दिएकी थिइन् भने बुधबार दोस्रो छोरी रिबेल लेकान संसारमा आइन् । उनले भनिन्, ‘यस्तो गर्भधारण र सन्तान जन्मेको हामीले सपनामा पनि सोचेका थिएनौं, तर दुवै छोरीलाई सकुशल यस संसारमा ल्याउन पाउँदा निकै सुन्दर अनुभूति भएको छ ।’

केल्सी अस्पतालबाट डिस्चार्ज भइन्
आमा छोरीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । केल्सी ह्याचरलाई १७ वर्षको हुँदा उनलाई ूपाठघरको डिडेल्फिसू भएको थाहा थियो । यो एक दुर्लभ जन्मजात अवस्था हो जसमा महिलाको दुईवटा पाठेघर हुन्छ । जुन धेरै कम महिलामा हुने गर्छ । केल्सीले यस वर्षको मे महिनामा आफ्नो जुम्ल्याहा सन्तान भएको र प्रत्येक पाठेघरमा एउटा भ्रूण भएको थाहा पाएकी थिइन् ।

ह्याचरले भनिन् कि उनलाई भनिएको थियो कि दुईवटा पाठेघरमा दुई बच्चा जन्माउनु एकदमै दुर्लभ छ, ५० मिलियन मध्ये १ मात्र हुन्छ। पछिल्लो पटक सन् २०१९ मा बंगलादेशमा २० वर्षीया अरिफा सुल्तानाले २६ दिनको अन्तरमा दुई स्वस्थ जुम्ल्याहा बच्चा जन्माएकी थिइन् । बर्मिङ्घमको युनिभर्सिटी अफ अलाबामामा ह्याचरको हेरचाह गर्ने प्रसूति–स्त्री रोग विशेषज्ञ श्वेता पटेलका अनुसार दुवै पाठेघरमा गर्भावस्था निकै दुर्लभ हुन्छ। केल्सीको सन्तान जन्मेकोमा खुशी व्यक्त गर्दै उनले केल्सी यसअघि नै तीन सन्तानकी आमा भइसकेका तर दुवै पाठेघरबाट गर्भवती भएको यो पहिलो पटक भएको बताइन् । जसका कारण उनको गर्भावस्था निकै कम भएको थियो ।