सिन्धुली, ८ पुस । गोलन्जोर गाउँपालिकाले आफ्नो सुविधासम्पन्न प्रशासकीय भवन निर्माण सुरु गरेको छ । गोलन्जोर गाउँपालिका–३ ग्वाल्टारमा आफ्नै करिब ४ रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने भवनको आज एक कार्यक्रमको आयोजना गरेर गाउँपालिका अध्यक्ष शंकरराज बरालले शिलान्यास गर्नुभएको छ । सिन्धुलीका ९ स्थानीय तह मध्ये ८ स्थानीय तहले आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवनको निर्णाण गरि सेवा प्रवाह सुरुवात गरिसकेका छन् ।
तर गोलन्जोर गाउँपालिकाले आफ्नै भवनसमेत बनाउन सकेको थिएन । सुरुदेखि नै गाउँपालिकाले घर भाडामा लिएर सेवा दिँदै आएको भएपनि यसअघि प्रशासनिक भवन निर्माण प्रक्रिया अघि बढाउने प्रयान नै गरेन । पालिकाका अनुसार पार्किङसहितको ४ तला ३८ कोठाको भवन ६ करोड ११ लाख ११ हजार २ सय ५७ रुपैंया लागतमा निर्माण हुनेछ ।
सो भवन आगामी २४ महिना (दुई बर्ष) भित्रमा निर्माण सम्पन्न गर्ने गरी पाइनस कन्ट्रक्सन प्रा.लि. काठमाण्डौसंग गत भदौ १२ गते ठेक्का सम्झौता गरिएको गाउँपालिकाका इन्जिनियर सुशिल काफ्लेले बताउनुभयो । भवन शिलान्यास गर्दै अध्यक्ष बरालले भवन निर्माणपछि गाउँपालिकाका सबै शाखा एउटै भवनमा रहने र प्रदान गरिने सेवासमेत प्रभावकारी हुने बताउनुभयो ।
उहाँ भन्नुभयो,‘हाल गाउँपालिका भवन साँघुरो भएकोले एउटै कोठाबाट २ भन्दा बढी शाखा सञ्चालन हुँदै आएको हुँदा नागरिकले सहज सेवा पाउन सकेको छैनन् भने सास्तीपूर्णरुपमा सेवा सञ्चालन भइरहेको छ । भवन साँघुरो भएकाले सेवा प्रवाहमासमेत सकस भएको तर प्रशासकीय भवन निर्माण भएसँगै सो समस्याको समाधान हुनेछ ।’
उहाँले निर्धारित समयभित्रमा गुणस्तरीय रुपमा निर्माण सम्पन्न गर्न सबैजनाको भुमिका उत्तिकै रहेने जिकिरका साथै सहयोगको लागि आग्रहसमेत गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद दाहालले विकासँग जोडिएको प्रशासकीय भवन निर्माणका लागि सबैको सहयोग र साथ आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्