रौतहट १२ पुस । मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी जनक भट्टराईको निर्देशनपछि रौतहटको कटहरियास्थित अवैध रुपमा सञ्चालन हुँदै आएको कौडा जुवा नियन्त्रणमा आउने भएको छ । डीआईजी भट्टराईको निर्देशनमा प्रदेश प्रहरी कार्यालय जनकपुरबाट बुधबार डीएसपी वीरेन्द्र पासवानको नेतृत्वमा टोली कटहरियास्थित लालबकैया नदीको पुल छेउ पुगेपछि जुवाडेहरुको भागाभाग भएको थियो ।
पछिल्लो एक सातादेखि कटहरिया बजारभन्दा झण्डै दुई किलोमिटर पश्चिम लालबकैया नदीको पुल छेउ केराघारीमा लाखौं लाखको कौडा जुवा हुँदै आएको थियो । स्थानीय एकजना मेयर प्रत्याशीले सेटिङ मिलाएर हरिन्दर कुर्मीको रेखदेखमा जुवा खेलाइरहेका थिए ।
डीएसपी पासवानका अनुसार जुवा सञ्चालन गर्ने समूहले उक्त स्थानको झण्डै डेढ़ दुई किलोमटर वरपर मानिस राखेर रेकी गर्न लगाएका थिए । उनीहरूले नै प्रहरीलाई देखेपछि जुवाडेलाई फोन गरेर खबर गरेपछि उनीहरु भाग्न सफल भएको डीएसपी पासवानले बताउनुभयो ।
उक्त स्थानबाट कौडा जुवा खेलाउन प्रयोग हुने केही सामान बरामद भएको उहाँले जानकारी दिनुभयो । एक सातादेखि केराघारीमा दैनिक बिहान १० बजेदेखि बेलुकीसम्म कौडा जुवा भइरहेको थियो । त्यहाँ जुवा खेल्न सर्लाही र बाराका जुवाडेहरु आउने गरेका थिए ।
त्यहाँ हुने कौडा जुवाबाट प्रहरी र पत्रकारको नाउँमा दैनिक १८ हजार रुपैयाँ उठाइने गरेको एकजना सहभागीले बताउनुभयो । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डीआईजी जनक भट्टराईले जुवा कौडा खेल्ने खेलाउने जो कोहीलाई कडा कारबाही हुने चेतावनी दिएका छन् । उहाँले कटहरियामा भइरहेको जुवाबारे अनुसन्धान भइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्