पोखरा, १४ पुस । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिम्खडाको एउटा तस्वीर यतिबेला चर्चामा छ । तस्वीरमा मन्त्री सिम्खडा मञ्चमा उभिएर भाषण गरिरहेको, मञ्च अगाडिको मैदान पुरै खाली रहेको र एक पुरुषले मन्त्रीको तस्वीर खिचिरहेको देखिन्छ ।
यो तस्वीर पोखरा रंगशालामा शुक्रबार सुरु भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा लिइएको हो । कास्की जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा मन्त्री सिम्खडा प्रमुख अतिथिका रुपमा डाकिनु भएको थियो ।
उद्घाटन समारोहअघि मार्चपास गरिएको थियो । जसमा प्रतियोगितामा भाग लिने खेलाडी, विद्यार्थी, प्रशिक्षकसहितसयौंको संख्यामा सहभागी थिए । औपचारिक उद्घाटन कार्यक्रम पनि निर्धारित समयभन्दा ढिलो हुँदा कतिपय प्रतियोगिता कभर्ड हलमा सुरु भइसकेका थिए ।
उद्घाटन समारोह लामो हुन थालेपछि सहभागीहरु पनि एकएक गर्दै बाहिरिन थाल्नुभयो । प्रत्यक्षदर्शीका अनुसार मन्त्री सिम्खडाको बोल्ने पालो आउँदा मैदानमा केही संख्यामा पत्रकारबाहेक कोही पनि बाँकी हुनुहुन्थेन ।
‘स्टेजमा चाहिँ अन्य अतिथिहरु, प्रशिक्षकहरु हुनुहुन्थ्यो । मैदानमा कोही पनि हुनुहुन्थेन’, कार्यक्रममा सहभागी एकजनाले भन्नुभयो, ‘उहाँले आफ्नो भाषण पनि छोट्याउनु भएन ।’
कार्यक्रममा मन्त्री सिम्खडाले हरेक खेलाडीले अनुशासनलाई जीवनको अंग बनाउनुपर्ने बताउनुभयो । प्रदेश खेलकुद परिषद् गण्डकीकी अध्यक्षसमेत रहनुभएकी उहाँले आफू पनि खेलप्रेमी रहेको सुनाउनुभयो ।
‘म आफू पनि खेलप्रेमी हो । यहाँ खेलाडीहरुलाई हेर्दा मेरो जीवनका ती क्षणहरु सम्झिरहेकी छु’, मन्त्री सिम्खडाले सहभागी खेलाडीहरुलाई शुभकामना दिँदै भन्नुभयो, ‘यहाँहरु विभिन्न खेलकुदमा सहभागी हुनुहुँदैछ । तपाईंहरु हारमा हरेश नखाई प्रतियोगितामा उच्च मनोबलका साथ खेल्नुहोस् । मेरो शुभकामना छ ।’
मन्त्री सिम्खडाले खेलाडीहरुलाई शुभकामना लक्षित मन्तव्य दिइरहँदा भने त्यहाँ कोही खेलाडी उपस्थित थिइनन् । त्यहीबेला उहाँका श्रीमान जनक बिसी फोटो खिच्न मञ्च अगाडि पुग्नुभएको थियो । विष्ट मन्त्री सिम्खडाका स्वकीय सचिवसमेत हुनुहुन्छ । तस्वीरमा देखिएको त्यही दृश्यले अहिले चर्चा कमाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्