जनता टाइम्स

२ आश्विन २०७६, बिहीबार १२:०६

एक्शनमा उत्रियो राजस्व अनुसन्धान : गर्यो ३६ करोड बिगो दावीसहित तीन ठुला कम्पनीविरुद्ध मुद्दा दायर


काठमाडौं, असोज २ । राजस्व अनुसन्धान विभागले एकै साता ३६ करोड बिगो दाबी गर्दै तीन ब्यापारिक फर्मबिरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । नक्कली भ्याट बिल, अन्तःशुल्क र भन्सार छलीका तीन मुद्दा टुंगो लगाएर विभागले मुद्दा चलाएको हो ।

बिभागले नक्कली भ्याट बिलसँग सम्बन्धित एउटा मुद्दामा २२ करोड २६ लाख बिगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । सरला श्रेष्ठको नाममा दर्ता भएको एएस हार्डवेयरले वस्तु तथा सेवाको खरिद नै नगरी नक्कली कर बीजक खरिद–बिक्री गर्दै आएको सूचनापछि विभागले पाँच महिना लगाएर अनुसन्धान गरेको थियो । श्रेष्ठको सो फर्मले ठूलो परिमाणमा नक्कली बिलबीजक जारी गरेको अनुसन्धानमा फेला परेपछि विभागले भदौ २५ गते मुद्दा दायर गरेको हो ।

नक्कली भ्याट बिल कारोबारको सो धन्दामा श्रेष्ठलाई अनंगपाल श्रेष्ठ र घनश्याम पोखरेलले सहयोग गर्दै आएका थिए । बिभागका अनुसार श्रेष्ठ र पोखरेलले नक्कली बिल तयार गर्ने, खरिद–बिक्री गर्ने, ओसारपोसार गर्ने, फर्मका बैंक खाता तथा कारोबार व्यवस्थापन गर्नेलगायत काम गरेका थिए । बिभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ६ करोड ८९ लाख ३० हजार र आयकरतर्फ १५ करोड ३६ लाख सात हजार गरी कुल २२ करोड २६ लाख रुपैयाँ बिगो असुल उपर गरी त्यसको तीन गुणासम्म जरिवाना कायम गरी मुद्दा दायर गरेको छ । नक्कली बिलमार्फत राजस्व चुहावट गर्ने कार्यमा संलग्न तीनैजनाविरुद्ध जनही तीन वर्षको कैद सजाय पनि मागदाबी गरिएको छ ।

राजस्व छलीमा सहयोग पुर्याएको भन्दै मतियारका रूपमा विभागले किशोरप्रसाद पुडासैनी, चेतना पुडासैनी, उमेशप्रसाद भट्टराई र शालिकराम गौतमलाई कसुरदारलाई हुने सजायको आधा सजाय मागदाबी गरेको छ । यस्तै बिभागले बाराको रुक्मिणी इन्डस्ट्रिज प्रालिबिरुद्ध साढे १२ करोड माग दावीसहित मुद्दा दर्ता गरेका छ । सो फर्मले अन्तःशुल्क नतिरी ठूलो परिमाणमा गे्रेनाइटको उत्पादन र कारोबार गरेको विभागको जानकारीमा आएपछि अनुसन्धान अघि बढेको थियो । कम्पनीले इजाजतपत्र नै नलिई अन्तःशुल्क लाग्ने वस्तुको उत्पादन र बिक्रीवितरण गरेर राजस्व छलेको ६ महिना लामो अनुसन्धानबाट देखिएको विभागले जनाएको छ ।

छली भएको अन्तःशुल्कबापतको रकममा लाग्ने भ्याट, थप दस्तुर र ब्याजसमेत गणना गरी कायम हुने भ्याटसमेतका आधारमा विभागले १२ करोड ४६ लाख रुपैयाँ बिगो कायम गरेको छ । विभागले रुक्मिणी इन्डस्ट्रिजका सञ्चालकद्वय एकता जाजौडिया र श्वेता जाजौडियालाई जरिवाना र कैद सजायसमेत माग गरी बारा जिल्ला अदालतमा भदौ २५ गते मुद्दा दायर गरेको हो । यस्तै बिभागले भन्सार छलीमा पनि मुद्दा दायर गरेको छ । बिभागले कपिलवस्तु मायाबस्तीस्थित कृष्ण ट्रेडिङ सप्लायर्सका प्रोपाइटर मनीष लोहारबिरुद्ध सो मुद्दा दायर गरेको हो ।

लोहारले आफ्नो व्यापारिक फर्मका कर्मचारी सुनीलकुमार गुप्ताको नाममा गोदाम भाडामा लिएर  चीनबाट ज्याकेटलगायत कपडा भन्सार छलेर आयात गरी भारत निर्यात गर्ने गरेको बिभागको भनाई छ । चीनबाट भन्सार छली गरेर ल्याइएको एक गाडी ज्याकेट भारत निकासीका क्रममा विभागको टोलीले कपिलवस्तुको कृष्णनगरबाट जफत गरेको थियो । यसरी बरामद भई दाखिला भएको मालवस्तुलाई एक करोड ३० लाख रुपैयाँ बिगो कायम गरी विभागले मंगलबार मात्रै कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

लोहारलाई मुख्य अभियुक्त कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद माग गर्दै कपिलवस्तु जिल्ला अदालतमा मुद्दा गरेको छ । त्यस्तै, आफ्नो नाममा गोदाम भाडामा लिई चुहावटमा संलग्न भएको मतियारका रूपमा गुप्ताविरुद्ध मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय माग–दाबी गर्दै मुद्दा दर्ता गरेको छ । प्रधानमन्त्री मातहत आएपछि राजस्व अनुसन्धान बिभागले राजश्व छलीबिरुद्ध कठोर कदम चालेको छ । यसैको परिणाम एकै महिना राजस्व छलीमा ठुलो परिमाणको मुद्दा दायर गर्न सफल भएको हो ।