जनकपुरधाम, १४ पुस । सिरहाको कर्जन्हाका मेयर भोला प्रसाद पोखरेलले पूर्व(पश्चिम राजमार्ग अबरुद्ध पारेपछि चुरे दोहनको आरोपमा पक्राउ परेका वडाध्यक्ष छुटेका छन् । चुरे क्षेत्रमा पर्ने कमला नदी दोहन गर्न लगाएको आरोपमा जिल्ला वन कार्यालयले शुक्रवार साँझ कर्जन्हा १ का वडाध्यक्ष फनिन्द्र प्रसाद पोखरेललाई पक्राउ गरेको थियो । उनीमाथि मुद्दा चलाउने वन कार्यालयका प्रमुख सुजित कुमार झाले दावी गरेका थिए ।
तर कर्जन्हाका मेयर पोखरेलले राजमार्ग अबरुद्ध पारेपछि वन कार्यालयले वडाध्यक्ष फनिन्द्रलाई छाडेको हो । वडाध्यक्षलाई वन कार्यालयले छाडेपछि आन्दोलन फिर्ता लिएको मेयर पोखरेलले बताउनुभयो । मेयर पोखरेल सयौं कार्यकर्तालाई लगेर आज दिउँसो करिब २ बजेदेखि पूर्व–पश्चिम राजमार्ग अबरुद्ध पारेका थिए ।
सयौं सवारी साधन अलपत्र परेको थियो । प्रहरीले राजमार्ग खुलाउन पहल गरेपनि मेयर पोखरेलले वडाध्यक्ष निर्दोष रहेको भन्दै तत्कालै रिहा नगरेसम्म राजमार्ग अबरुद्ध कायम राख्ने अडान लिएका थिए । वन कार्यालयले अन्ततः वडाध्यक्ष फनिन्द्रलाई छाड्न बाध्य भएको छ ।
चुरे तथा वन क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्न ऐन र कानुन विपरीत सिफारिस गरेको प्रमाण भेटेपछि वडाध्यक्ष पोखरेललाई पक्राउ गरिएको डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीले दावी गरेका थिए । तर आन्दोलनको अगाडी चुरे दोहन गराएको प्रमाण पनि फेल भयो । वडाध्यक्ष फनिन्द्र रिहा भएपनि चुरे दोहनको सिफारिसकै आरोपमा पक्राउ परेका अन्य ३ जना भने वन कार्यालयकै हिरासतमा छन् ।
प्रतिक्रिया दिनुहोस्