वीरगंज, १५ पुस । आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले प्रमुख दलका नेताहरुका कारण देश असफल भई आर्थिक संकट गहिरिदै गएको बताउनुभएको छ । आजपाद्वारा पर्साको पोखरियामा आज आयोजित पार्टी प्रवेश एंव कर्याकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले मुलुकमा आर्थिक संकट गहिरिदै गएका कारण विभिन्न समस्य देखा परेको बताउनुभयो ।
‘कांग्रेस, माओवादी, एमाले लगायत दलका नेताहरू सत्ता प्राप्तिको दौडमा हुनुहुन्छ । समृद्धि, सुशासन कसरी कायम गर्न सकिन्छ, नेपाली जनताका चाहना कसरी पूरा गर्न सकिन्छ भन्ने बारेमा सोच्ने उहाँहरुलाई फुर्सद छैन्,’ आजपा अध्यक्ष साहले भन्नुभयो,‘सत्तामा कसरी पुग्ने, सरकार बनाउने र ढाल्ने खेलमा लागेका नेताहरूले रोजगार सृजना गर्न सकेनन् । त्यसैले आज बेरोजगारी बढेको छ । भ्रष्टाचार, कुशासन बढेको छ । देशमा आर्थिक संकट गहिरिदै गएको छ । रोजगार खोजिरहेका युवालाई सरकारले रोजगार दिन सकिरहेको छैन् । रोजगारकालागी बिदेश जन्छु भन्ने युवाहरूलाई सरकारले गोलि हानेर हत्या गर्ने दृश्य हामी देखिरहेका छौं ।’
यी नेताहरुको सत्ता मोहकै कारण यो व्यवस्था असफल भएको बताउँदै उहाँले समृद्ध नेपाल निर्माणका लागी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थामा जानुको विकल्प नभएको बताउनुभयो । यो सरकार, दल तथा दलका मठाधिशहरु असफल भईसकेको बताउदै अध्यक्ष साहले यो सरकार विघटन गरि अन्तरिम सरकार गठन गरेर देशलाई निकास र बिकास दिएर मुलुक समृद्ध बनाउन सकिने बताउनुभयो ।
एक अर्को प्रसंगमा आजपा अध्यक्ष साहले वीरगंज सहित पुरै मधेसलाई उजाड बनाउँने काम उपेन्द्र यादवले गरेको बताउदै उपेन्द्रलाई मधेसवाट बहिष्कार गरी दण्डित गर्नुपर्ने बताउनुभयो । देशकै आर्थिक राजधानी रहेको वीरगंज सहित मधेसलाई तहसनहन गर्दै बर्बाद गरेर उजाड बनाउँने काम उपेन्द्रले गरेको उहाँले बताउनुभयो ।
‘सबैभन्दा सुगम भनिएको मधेसको मानव सूचांक अहिले कर्णालीभन्दा पनि पछाडी छ । वीरगंज सहित मधेसलाई बर्वाद गर्ने, उजाड बनाउँने, तहसनहस गर्नेलाई अब बहिष्कार गरेर दण्डित गर्नुपर्ने बेला आईसकेको छ’ साहले भन्नुभयो,‘मधेसी जनता, मधेसका लागि भनेर मधेसलाई नै बर्बाद गर्ने, उजाड बनाउँनेहरु मधेस सरकारमा पुगेपछि मधेसका लागि के गरे ? जहिले पनि शासनमा छदैछन्, तर उनीहरुले केवल मधेसलाई बर्बाद गर्ने काम मात्रै गरे । के उनीहरुलाई दण्डित गर्ने बेला भएको छैन् ? के उनीहरुलाई यतिकै छाडने हो ? मधेसलाई गुलजार बनाउँने हो भने मधेसलाई उजाड बनाउँनेलाई दण्डित गर्नैपर्छ ।’
दलितका आवास निर्माण, शिक्षा, स्वास्थ्य, यातायात सबै क्षेत्रमा कुनै एउटा राम्रो काम गर्न नसक्नेहरु सत्तामा बसेर लुट मचाईरहको आरोप साहले लगाउनुभयो । संघीय सरकार सहित मधेस प्रदेशको सरकार भ्रष्टाचारमा लिप्त रहेको बताउँदै उहाँले सुशासन, समृद्धिका लागि भ्रष्टाचारका बिरुद्धमा शसक्त आवाज उठाउँनुपर्ने बताउनुभयो ।
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित र सहकारीहरुबाट लिएको सम्पूर्ण ऋण मिनाहा तथा किसानहरुलाई सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने लगायतका बिषयमा आजपाले आवाज उठाउँदै आएको छ । यसलाई पुरा गराउन आजपाले घोषणा गरेको माघ १० गतेको मधेश बन्दको कार्यक्रमलाई सफल बनाउन आह्वान गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्