काठमाडौं, १६ पुस । यतिबेला अछामको ढकारी गाउँपालिका-१ निवासी ३० वर्षीय युवक ब्लड क्यान्सर भएर जीवन-मृत्युसँग लडिरहेका छन्। आर्थिक अवस्था कमजोर भएका नवराज बुढा केही समय पहिले चितवन आउनुभएको थियो । उहाँ उपचारका लागि क्यान्सर अस्पताल चितवन भर्ना हुनुभयो । उपचारकै क्रममा आफूसँग भएको सबै रकम सकियो।
पढलेखसमेत नगरेका नवराज गाउँमा सामान्य खेतिपाती गर्दै आउनुभएको थियो । कहिलेकाहीँ उहाँ रोजगारीका लागि भारत पनि जानुहुन्थ्यो । तर, ब्लड क्यान्सर भएपछि उहाँको परिवारको आर्थिक उपार्जनको सबै बाटो बन्द भएको छ। श्रीमती गीता चिन्तामा हुनुहुन्छ । श्रीमान्को क्यान्सरको उपचारसँगै पाँच वर्ष नकटेका दुई सन्तानलाई स्कुलसमेत कसरी पठाउने भन्ने चिन्ताले गीतालाई पिरोल्न थालेको छ ।
‘श्रीमान्को उपचारमा सबै पैसा सकियो। तर, पु्रा उपचार हुन सकेको छैन। माग्ने ठाउँमा पनि मागि सक्यौं। अब त माग्ने ठाउँ पनि बचेन। भगवानलाई पुकार्नुबाहेक अब हामीसँग कुनै बिकल्प छैन। त्यसैले सकेको सहयोग गरेर मेरो सिन्दूरको रक्षा गरिदिन म सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आग्रह गर्दछु,’ उहाँ भन्नुहुन्छ ।
उपचारका लागि पैसा सकिएपछि नवराज घर फर्किनुभएको छ । उहाँ यतिबेला गाउँमा सरसापट मागिरहनुभएको छ । तर, सक्ने जति सबैले सहयोग गरिसकेकाले अब उहाँको माग्ने ठाउँ पनि छैन । ‘म त आर्थिक अभावमा उपचार नपाएरै मर्छु कि लाग्न थालेको छ। श्रीमती र साना लालाबालाको अनुहारमात्र मनमा घुमिरहेको हुन्छ। मलाई केही भइहाल्यो भने उनीहरू कसरी बाच्लान् कसरी जीवन चलाउलान् भन्ने चिन्ताले पिरोलिरहेको हुन्छ,’ उहाँले भन्नुभयो ।
उहाँ आफ्नो जीवन बचाइदिन आग्रह गर्नुहुन्छ । त्यसका लागि अछामको ढकारीस्थित सिजन बैंकको आफ्नो नवराज बुढा Navaraj budha नामक ०७९०१०००००१२१०१० मा रकम जग्मा गरिदिन आग्रह गर्नुभएको छ । उहाँले त्यसरी प्राप्त सहयोगले आफ्नो जीवन बाच्ने र सहयोगीहरूप्रति सामाजिक सञ्जालमार्फत कृतज्ञता ज्ञापन गर्ने बताउनुभएको छ । उहाँलाई ढडद्धछढटठज्ञडट मा सम्पर्क गरेरसमेत सहयोग गर्न सकिने छ ।













प्रतिक्रिया दिनुहोस्