जनता टाइम्स

२ आश्विन २०७६, बिहीबार १३:४४

एनआरएनए आइसीसी उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठको उम्मेदवारी घोषणा


काठमाडौं, असोज २ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडांै हुने नवौ महाधिवेशनमा अर्जुनकुमार श्रेष्ठले आइसीसी उपाध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गर्नुभएको छ । एनआरएनएको स्थापना कालदेखि नै सक्रिय रहँदै आउनुभएका श्रेष्ठ एनआरएनभित्र सरल, कुशल, इमानदार र कर्तब्यनिष्ठ अभियान्ताको रुपमा परिचित हुनुहुन्छ ।

दुई कार्यकाल आइसीसी सदस्य साथै युरोप संयोजकको नेतृत्व मात्रै हैन, आइसीसी सचिब समेत बनिसक्नुभएका श्रेष्ठ यसपटक भने उपाध्यक्षको बलियो दाबेदारका रुपमा अघि सारिएको उम्मेद्वार हुनुहुन्छ । एनआरएनएलाई सवैको भावनाको कदर गर्ने संस्थाका रुपमा अघि बढाउने अभियानका लागि आफूले उपाध्यक्षको उम्मेद्वार बन्ने निर्णय लिएको श्रेष्ठले जनताटाइम्सलाई बताउनु भयो ।

‘एनआरएनएलाई राजनैतिक रुपमा जोड्न हुदैन र यसको मूल मर्मबाट बिचलित हुनु हुँदैन, हाम्रो लक्ष्य प्राप्तिको लागि अगाडि बढ्नु एक मात्र एनआरएनएको उदेश्य हो,’ एनआरएनलाई राजनीतितर्फ जोड्न थलिएको तर्कप्रति लक्षित गर्दै श्रेष्ठले भन्नुभयो । आठ बर्ष केन्द्रीय समितिमा बसेर काम गर्नुभएका श्रेष्ठ नेपाल सरकारका अपेक्षा पूरा गर्न बिगतका दिनदेखि नै सक्रिय रुपमा कार्यगरेको बताउनु हुन्छ । नेपालको बिकास र उन्नती गर्न सके मात्र एनआरएनएको सपना पूरा हुने श्रेष्ठको निचोड छ ।

सबैको साथ र समर्थनको अपिलसहित आफू एनआरएनएको अभियानलाई निरन्तरता दिँदै उम्मेद्वारी दिन लागेको उहाँले बताउनु भयो । बैदेशिक रोजगारीलाई मर्यादित र ब्यवस्थित बनाउन विशेषत मध्यपूर्वका श्रमिक मजदुरहरुको समस्या, त्यसै युरोप अमेरिका अष्ट्रेलिया जस्ता बिकसित देशमा पुगेका नेपालीहरुको समस्यालाई पहिचान गर्ने र त्यसलाई समाधान गर्न नेपाल सरकारसंग सहकार्य गर्दै आफू लागिपर्ने उहाँको अठोट छ ।

स्थापना कालदेखि नै संघर्ष गर्दै आउनुभएका श्रेष्ठलाई संस्थाको विकासका लागि परिपक्व नेतृत्व प्रदान गर्न सक्ने ब्याक्तिको रुपमा समेत एनआरएनहरुले हेर्ने गर्छन ।